मलाइ तिमी मुस्कुराइ दिए पुग्छ
तिम्ले मुस्कुराउन म भए पुग्दैन ?
भमराहरु पनि मालीको भेषमा आउछन्
रावणहरु रामको देशमा आउछ्न
तिम्रो मुहारको तारिफ गर्न आउछन्
तिम्रो खुशी सङ्ग अन्कमाल गर्न कैयौं आउछ्न
तर तिमि एक्लै भएर भक्कानिदा
अङ्गालो दिने म भए पुग्दैन ?


यहाँ भावनाहरुको हांटबजार छ
मायाको खुद्रा अनि
सम्बन्ध को थोक ब्यापार छ
तिम्रो मुस्कान को
जवानी को
रुपको
छुट्टै वासलात छ
जहाँ डेबिट र क्रेडिटको
सिद्धान्त लागू हुन्छ
यो सिद्ध छ कि तिम्रो मुस्कान अनि
जवानी तौलिरहनेछन
त्यो तुलामा
तिम्रा चाउरिएका गालाले
दिएको मुस्कान हलुका पर्न गए
तिम्रै छेउ उभि दिने म भए पुग्दैन ?
बाचा कसम खाने अनेकौं पाइन्छन यहाँ
खोला ले बाचा गर्छ किनारा हरुलाई
“एक दिन पक्कै भेटाउने छु तिमीहरुलाइ ”
नदिले बाचा गर्छ मुहानलाई
“एक दिन फर्केर पक्कै आउने छु ”
डढेलो ले बाचा गर्छ वन लाइ
“तिम्रो जवानी मास्ने छैन कहिले
केवल न्यानो स्पर्श देउ ”
भर्खर रङ्गिएको सिंउदो पखालेर
गएको एक परिन्दा अन्तिम श्वास लिदै
बिधवा लाइ बाचा गर्छ
“यो अपुरो साथ अब अर्को जुनी पूरा गर्ने छु ”
आकाश को तारा झार्ने होइन
धरती को बुकि फुल सिउरी
तिम्रो अनुहार तारा झै टहटह पार्ने म भए पुग्दैन ?
–मोहन भट्ट
काडापारी , दार्चुला ।

















