खाेज्नुहाेस

सीमामा प्रहरीको निसानामा किसान

Image

कञ्चनपुर – नेपाल–भारत सीमाक्षेत्रमा कृषि सामग्री ओसारपसारका क्रममा दुवै देशका प्रहरीले सात जना नागरिकलाई पक्राउ गरेका छन् । भारततर्फ तीन बोरा युरिया मलसहित तीन नेपाली र नेपालतर्फ साढे तीन क्विन्टल तोरीसहित चार भारतीय नागरिक पक्राउ परेका हुन् । दुवै घटनामा पक्राउ परेकाहरू ठूला तस्करी सञ्जालका सदस्य नभई साइकलमा कृषि सामग्री बोकेको अवस्थामा नियन्त्रणमा परेका हुन् । यस घटनाले सीमावर्ती क्षेत्रका किसान र स्थानीय बासिन्दाबीच बहस सुरु भएको छ ।

भारतको लखिमपुर खिरी प्रहरीले ६ अगस्ट २०२६ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार तीन बोरा युरिया मल र ती मल बोकेको तीन वटा साइकलसहित बेलौरी नगरपालिका–२, गोकुलपुरका धनबहादुर चौधरी, रमेश चौधरी र विकास चौधरीलाई पक्राउ गरिएको हो । स्थानीयका अनुसार उनीहरूलाई ठूलो तस्करझैँ प्रस्तुत गर्दै प्रहरीले सार्वजनिक गरेको थियो । सीमावर्ती बासिन्दाहरूले एक–एक बोरा मल साइकलमा ल्याउने कार्य कानुनी रूपमा गलत भए पनि यसलाई संगठित तस्करीसँग तुलना गर्न नमिल्ने बताएका छन् ।

attariya hospital
navjiwan hospital

यता सुदूरपश्चिम प्रदेश प्रहरीले २२ साउनमा सार्वजनिक गरेको विवरणअनुसार २१ साउनमा बेलौरी नगरपालिका–१ को सीमा क्षेत्रबाट भारतबाट नेपालतर्फ तोरी ल्याइरहेका चार भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी जिल्लाको बसही कलौनीका सन्तोष कुमार, सञ्जय कुमार, अनुप कुमार गुप्ता र मनोज कुमार रहेका छन् । उनीहरूको साथबाट चार वटा साइकल र करिब साढे तीन क्विन्टल तोरी बरामद गरिएको प्रहरीले जनाएको छ ।

भारतमा पक्राउ परेका नेपाली किसानका आफन्तले नेपालमा मलको अभाव भएपछि आफ्नै खेतबारीका लागि भारतबाट मल ल्याउन गएको बताएका छन् । उनीहरूका अनुसार उक्त मल बिक्रीका लागि नभई घरायसी कृषि प्रयोजनका लागि ल्याइएको थियो । त्यस्तै नेपालमा पक्राउ परेका भारतीय नागरिकका आफन्तले नेपालमा तेल पेलाउनका लागि तोरी ल्याइएको दाबी गरेका छन् । विगतका वर्षहरूमा पनि यसरी तोरी ल्याउने प्रचलन रहेको उनीहरूको भनाइ छ ।

दुवै पक्षका आफन्तले सीमावर्ती क्षेत्रमा परम्परादेखि हुँदै आएको कृषि सामग्रीको सानो परिमाणको ओसारपसारलाई ठूला तस्करीसँग जोडेर किसानमाथि अन्याय गरिएको आरोप लगाएका छन् ।
कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले सीमा क्षेत्रमा हुने गैरकानुनी ओसारपसार नियन्त्रणका लागि कानुनअनुसार कारबाही गरिएको बताए । गैरकानुनी गतिविधिमा संलग्न जोसुकै भए पनि कारबाही हुने उनले बताए । ‘आज साइकलमा हुने सानो तस्करीलाई बेवास्ता गर्दा भोलि त्यसले ठूलो रूप लिन सक्छ’ उनले भने । किसान अगुवा दशरथ भण्डारीले भने सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान भारतबाट मल ल्याउन बाध्य भएको बताए । किसानलाई आवश्यक बेला मल नपाउँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाई छ ।