खाेज्नुहाेस

बाक्लो उखु खेतीमा जङ्गली जनावरको त्रास 

Image
सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको दक्षिणी क्षेत्रमा उखु खेतीका लागि प्रख्यात छ । दुई वटा चिनी मिल रहेको यो क्षेत्रका किसानहरूले नगद बालीका रूपमा उखु खेती गर्दै आइरहेका छन् । दक्षिणी क्षेत्रका बेलौरी, पुर्नवास नगरपालिका र बेलडाडी लालझाडी गाउँपालिकामा उखु खेती बढी हुने गरेको छ । यी पालिका बाहेक कञ्चनपुरका करिब १० हजार किसानहरू उखु खेती गर्छन् ।
बाक्लो उखु खेती रहेका यी क्षेत्रहरूमा जङ्गली जनावरहरुको भने सधैँ त्रास रहने गरेको छ । चितुवा, जङ्गली बिरालो, बँदेल सँगै बेला बेला पाठे बाघ समेत उखु खेतमा देखिने गरेको छ । बेलडाडी, लालझाडी र पुनर्वासमा हात्ती समेत उखु बारीमा पसेर नोक्सानी गर्ने गरेको छ ।
attariya hospital
शुक्रवार मात्रै बेलौरी नगरपालिका १० भुडाको उखु खेतमा जङ्गली बिरालो, चितुवा देखिएको थियो । स्थानीयहरूका अनुसार बस्तीमै चितुवा, पाठे बाघ, बिरालो देखिने गरेका छन् । बस्तीमै पुगेर यी जङ्गली जनावरहरुले स्थानीय किसानका पशुधनको क्षति गरिरहेका हुन्छन् । बस्तीमै छिरेर स्थानीय किसानका बाख्रा, सुँगुर लगायतका घरपालुवा जनावरहरु माथि आक्रमण बढ्न थालेपछि यहाँका स्थानीयहरू त्रसित छन् ।
navjiwan hospital
कुण्डा सब डिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादवले पछिल्लो समय बेलौरी लगायत अन्य ठाउँमा चितुवा, बिरालो देखिने गरेको बताए । बाक्लो उखु खेती नजिक अँध्यारो ठाउँ पशु बाँध्ने भएकोले घरपालुवा जनावरहरूमाथि आक्रमण बढेको उनको भनाइ छ । उनले चितुवा एक ठाउँ बसिरहने स्वभावको नरहेको बताए । चितुवाबाट बच्न पर्याप्त उज्यालो आवश्यक रहेको उनको भनाइ छ ।
कुण्डा सब डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट एक जनाको मृत्यु  भएको छ भने एक जना घाइते भएका छन् । कार्यालयमा राहतका लागि प्राप्त विवरण अनुसार १७ पशुहरूको जङ्गली वन्यजन्तुको आक्रमणबाट ज्यान गएको कुण्डा सब डिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादवले बताए । यो क्षति पछि राहतको माग गर्न गरिएको विवरण अनुसार रहेको तर  क्षति भने बढी भएको उनको भनाइ छ ।
हात्तीले धेरै ठाउँहरूमा किसानका बालीनाली, उखु,केरा खेती क्षति गरेको छ । जङ्गली जनावरहरुबाट हुने क्षति पश्चात् नेपाल सरकारले राहत उपलब्ध गराउने गरेको प्रमुख यादवले बताए । उनका अनुसार  वन्यजन्तुको आक्रमण बाट मृत्यु भएको मानिसलाई १० लाख, सिकिस्त अपाङ्ग घाइते भएकोलाई ५ लाख र सामान्य घाइतेहरूलाई ६० हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ । त्यस्तै कृषि बाली क्षति भएकोलाई ३७ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ भने ८ देखि १० हजारका दरले २ लाख २५ हजार रुपैयाँ पशु धन क्षति भएका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।