गर्मी मौषममा रोगहरुको संक्रमण बढी हुन्छ । यो मौषमलाई रोगहरुको मौषमको रुपमा पनि चिनिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातवरणीय प्रभाव परेको छ ।
यो मौसममा खाना छिटो सड्ने र यस्तो खानाले फुड प्वाइजन (विषाक्त) हुने, लामखुट्टेको वृद्धि पनि यही मौसममा बढ्ने हुनाले अन्य रोगको संक्रमण पनि यही मौसममा हुन्छ । गर्मी मौसममा बढ्ने प्रदूषणले श्वास÷प्रश्वास र झाडापखाला रोग पनि फैलाउने गर्दछ । चिकित्सकका अनुसार यो मौसममा दूषित खाना तथा पानीजन्य टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस आदि रोग बढी सक्रिय हुन्छन् । साथै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सोप्लाइटिस, कीट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रवटाइफस, कालाजार पनि यही मौसममा सक्रिय हुन्छन् ।

दूषित पानी तथा खानाको कारण टाइफाइड, हेपाटाइटिस ‘ई’ र ‘ए’ झाडापखाला, हैजा र आउँजस्ता रोग लाग्छन् । गर्मी मौसममा सडेगलेका, झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँमा खानाले र आफ्नो पनि सफाइ राम्रोसँग नगरेको अवस्थामा यी रोग सर्छन् ।

पछिल्लो केही दिन यता कैलाली कञ्चनपुर लगायतका तराईका जिल्लाहरुमा झाडापखालाको प्रकोप बढेको छ । कनै लक्षण बिनै अकस्मात हुने झाडापखालाका कारण मानिसहरु आत्तिने गरेका छन । झाडापखाला दूषित पानी तथा खानाले लाग्छ । दूषित खाना तथा पानीमा कोलिफर्म तथा इकोलाई भिब्रियो कलेरा, कलेरालगायत संक्रमण गराउने जीवाणु हुन्छ । खाना तथा पानीको प्रयोग गर्ने क्रममा यो पेटभित्र प्रवेश गर्छ र झाडापखाला लाग्छ ।
झाडापखाला लागेपछि बारम्बार पातलो दिसा लाग्नुका साथै पेट दुख्छ । पखालाको समयमै उपचार नभए शरीरमा पानी र नुनको मात्रा कम भई जलवियोजन हुन्छ । जलवियोजनका कारण बिरामीको मृत्युसमेत हुन सक्छ । सडेगलेका खाना र दूषित पानीका कारण यो रोग लाग्ने भएकाले गर्मी मौसममा स्वच्छ पानी तथा खाना खाए यो रोगबाट बच्न सकिन्छ । त्यसबाहेक हैजा पनि गर्मी मौषममा सबैभन्दा बढी देखिने रोगहरुमा पर्दछ । दिसामिश्रित पानी या खानामा पाइने भिब्रियो कलेरा नामक जीवाणु पानी या खाना प्रयोगको क्रममा पेटमा पुगेपछि हैजाको संक्रमण हुन्छ । मनसुनको कारण पानीका स्रोत जमिनमुनिका पाइप, धारा तथा कुवा दूषित हुने र त्यस्तो पानी प्रयोग गरे यो जीवाणु हाम्रो पेटमा प्रवेश गर्छ ।
पेटमा पुगेपछि पेट दुख्ने, बारम्बार पातलो दिसा लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिन्छन् । वान्ता र पातलो दिसा पटक–पटक हुँदा शरीरमा भएको नुन तथा पानीको मात्रा बगेर जान्छ र जलवियोजन हुन्छ । हैजा भइहाले जीवनजल बढी खाने र स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्छ । नेपालमा यो रोगको संक्रमण बर्सेनी हुने गरेकाले सफाइमा सचेत भए यो रोग लाग्नबाट बचिने चिकित्सक सुझाउँछन् । यस्ता अन्य रोगहरु पनि छन, जुन विशेषतः गर्मी मौषममा लाग्ने गर्दछन् । हेपाटाइटिस, मलेरिया, डेंगु ज्वरो, स्क्रवटाइफस, कालाजार लगायतका रोगहरुका साथै गर्मी मौषममा सर्पको पनि विगविगी हुने गर्दछ ।
यस्ता रोगहरुबाट बच्न सरसफाईमा विशेष ध्यान दिन आवश्यक छ । गर्मी मौषममा वातावरणीय प्रदुषण र खानेपानी लगायतमा हुने फोहोरका कारण यस्ता रोगहरुको मात्रा बढ्ने गर्दछ । त्यसैले गर्मी मौषममा यस्ता रोगहरुबाट बच्न सरसफाईमा विशेष ख्याल गर्नुपर्दछ । स्वच्छ पानी पिउने, घर वरिपरी सफा राख्ने, कुनै काम विना दिउँसोको समयमा बाहिर ननिस्कने, रातीको समयमा झुलको प्रयोग गर्ने लगायतका उपायहरु अपनाउन सके गर्मी मौषममा पनि स्वस्थ रहन सकिन्छ ।
स्वास्थ्य मानिसको सबैभन्दा महत्वपुर्ण धन हो । स्वस्थ भएमात्रै शरिरले दैनिक क्रियाकलापहरु सजिलै गर्न सक्छ । दैनिक जिवनमा आईपर्ने समस्याहरु समाधानका लागि मानिस स्वस्थ रहन अनिवार्य छ । त्यसैले सर्वप्रथम आफ्नो शरिरको ख्याल राख्न आवश्यक छ । त्यसैले शरिरलाई सफा राख्न र आफु स्वस्थ बन्न सरसफाईमा बढी ध्यान दिन अपरिहार्य छ ।
















