सुर्तिजन्य पदार्थ स्वास्थ्यको लागि एकदमै हानिकारक छ । निकोटिन, टार, कार्बनमोनोअक्साइड, एमनिया, रेडनलगायत केमिकल पाइने सूर्तीजन्य पदार्थका सेवनले ज्यान गुमाउनेको संख्यामा धेरै कमि आउन सकेको छैन । सुर्तीजन्य पदार्थ मन्द विष हो । जसबाट बर्सेनि लाखौँ मानिसको मृत्यु हुँदै आएको छ । सुर्तिजन्य पदार्थको प्रयोगले तत्काल र दिर्घकालिन दुवै असरहरु पर्ने गर्दछन् । खानेकुरा तथा शरिर गन्हाउने, दाँत पहेलो हुने, साँस गन्हाउने लगायतका समस्याहरु सुर्तिजन्य पदार्थको सेवनबाट आउने तत्कालिन असरहरु हुन भने यसको दिर्घकालिन असरहरुमा छालामा चाउरिपना आउने, छाला चिलाउने र शरिरभरी रातो धब्बाहरु देखिने, क्यान्सर लगायतका रोगहरु लाग्ने र मानिसको मृत्यु समेत हुने आदी छन । यसले व्यक्तिलाई मात्रै नभई परिवार र समाजलाई पनि त्यत्तिकै असर गरेको हुन्छ । त्यसैले यसको न्युनिकरण अनिवार्य छ । यो एकप्रकारको लत हो । लत भएकै कारण शतप्रतिशत निर्मूल हुन नसके पनि यसलाई न्यून गर्न सकिन्छ ।

मानव स्वास्थ्यका लागि यिनको सेवन र कारोबारबाट जति टाढा रह्यो, त्यति नै फाइदा हुन्छ । त्यसका लागि सुर्तिजन्य पदार्थको विक्रिवितरणमा सरकारले कडाई ल्याउन जरुरी छ । तर विडम्बना नेपालमा सरकारहरू यिनै चुरोट तथा सुर्तीजन्य कारोबार गर्ने उद्योगीप्रति रहस्यमय तवरबाट सहानुभूति व्यक्त गर्दै आएका देखिन्छ । यसबाट प्राप्त हुने राजस्वको लोभमा सरकार लटपटिएको पनि देखिन्छ । यसको सेवनबाट जनस्वास्थ्यमा परेको गम्भीर असरका बारेमा सरकारले बुझेर पनि सोच्न सकेको छैन ।

सरकारले सुर्तिजन्य पदार्थको नियमन का लागि कडाई नथाल्दा अहिलेका प्रायजसो सबै युवावर्गहरुमा यसको लत बसिसकेको छ । स्कुल पढ्ने उमेरका युवाहरु चुरोट तानिरहेका देखिन्छन । सरकारको लाचारीपन र राजश्वको प्रलोभनका कारण कलिला युवाहरुको भविष्य अन्धकारमा धकेलिदैछ । सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि यसमा बढी भन्दा बढी मात्रामा कर लगाईनु आवश्यक छ । नेपालमा अन्य दैनिक जिवनमा अतिआवश्यक पर्ने खानेकुराहरुमा कर बढेको छ । त्यसैगरी सुर्तिजन्य पदार्थमा पनि सरकारले अधिकतम भन्दा अधिकतम मात्रामा कर लगाउन आवश्यक छ । जसले गर्दा आममानिसले त्यसको सेवनका लागि सोच्नुपर्ने अवस्था आओस । त्यतिमात्रै नभई विद्यालय वरपर र सार्वजनिक स्थानहरुमा सुर्तिजन्य पदार्थको विक्रिवितरण रोकिनुपर्दछ ।
केही क्षणको फाईदाका लागि आमनागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने छुट सरकारलाई छैन । तसर्थ सरकारले यस्ता वस्तुहरुको नियन्त्रणमा ध्यान दिनुपर्दछ । सुर्तिजन्य पदार्थहरुको विक्रिवितरण र यसको न्युनिकरणमा योजनाबद्ध रुपमा अघि बढ्नुपर्छ । जसका लागि ढिलाई भैसकेको छ अझै ढिलाई गरिनुहुदैन ।
















