खाेज्नुहाेस

मोडालिटीमा नअल्झिऔँ

Image

सुदूरपश्चिमकै स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्ने योजनाका रूपमा अघि बढी रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विश्वविद्यालयको भौतिक संरचनाको काम हाल अन्तिम चरणमा पुगेको छ । गेटामा झन्डै ७ अर्ब रकम खर्चेर भौतिक संरचना निर्माण गरिएका छन् । पूर्वाधार विकास समिति मार्फत भौतिक संरचना निर्माणको काम तीव्र गतिमा अघि बढेको भए पनि सञ्चालनको मोडालिटीमा भने सरकारले सुरुदेखि नै स्पष्ट नपार्दा लामो समय विवाद रह्यो ।

यसैबिच सरकारले २०७९ माघ २९ गते सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विश्वविद्यालय बनाउने घोषणा गरेको थियो । विश्वविद्यालय बनाउन गरिएको घोषणा अनुरूप हाल सरकारले विधेयक बनाएर विश्वविद्यालय सञ्चालनका लागि नीतिगत रूपमा पनि काम अगाडि बढाएको छ । विधेयक हाल राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पेस भएको छ ।

attariya hospital
navjiwan hospital

लामो समयको मोडालिटी विवाद पछि हाल विश्वविद्यालय बनाउने काम नीतिगत रूपमै अगाडि बढेको बेला आइतबार गेटामा अवलोकन गर्न आएकी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भने पुनः मोडालिटीकै बखेडा झिकेपछि आलोचित बनेकी छिन । उनकै मन्त्रालय मातहतमा भइरहेको नीतिगत कामको बारेमा अनविज्ञता प्रकट गरेजस्तै उनले कुन मोडालिटीमा काम गर्ने आशयका अभिव्यक्ति दिएपछि स्थानीय रुष्ट बनेका थिए ।

लामो समय देखिको रस्साकस्सी पछि मोडालिटीको विषयले निकास पाएको भए पनि कार्यान्वयन तहमै रहेका मन्त्रीबाट पुनः मोडालिटीको विषय आउँदा अझै विश्वविद्यालय सञ्चालनमा आउन विलम्ब हुने हो कि भनेर यस क्षेत्रका जनता झस्किएका छन् ।

गेटामा विश्वविद्यालय अन्तरगत सञ्चालन हुने मेडिकल कलेजका लागि चाहिने पूर्वाधारको सुनिश्चित गर्नुको साटो हाल फेरी मोडालिटीमै अल्झ्याउदा अझै ढिलाइ हुने निश्चित छ । त्यस्तैले हालसम्म स्तरीय स्वास्थ्य सेवाको अभाव खेपिरहेको सुदूरपश्चिमलाई तत्काल स्तरीय स्वास्थ्य सेवा दिने अस्पताल गेटामा तत्काल सञ्चालन गर्न राज्यले ध्यान दिन आवश्यक छ ।

अब पनि के, कसरी बनाउने भन्ने विषयमै विवाद गरेर समय खेर फाल्नुभन्दा भौतिक संरचना निर्माण भइसकेको गेटामा नीतिगत संगसैग भौतिक संरचना निर्माण भएका भवनमा अस्पताल सञ्चालन गरेर मेडिकल कलेज सञ्चालन गर्न ध्यान दिन आवश्यक छ ।