नायलमा पुर्वाधार विकास गर

कैलालीको गोदावरी नगरपालिका – १२ मा पर्ने नायल गाउँलाई सुगम क्षेत्रको विकट गाउँका रुपमा लिन सकिन्छ । नगरपालिकाको मुख्य बजार अत्तरियाबाट करिब ३ घण्टाको सवारी साधनको यात्रा पश्चात त्यहाँ पुग्न सकिन्छ । पर्यटकिय क्षेत्रका हिसाबले नगरकै सबैभन्दा सुन्दर र मनोरम नायल गाउँमा विकासका कुनै पनि पुर्वाधारहरु पुग्न सकेका छैनन् । नगरकै सबैभन्दा आर्कषकका रुपमा रहेको नायल ताल पनि यही गाउँमा छ । चारैतिर डाँडाले घेरेको बडो आकर्षकका रूपमा देखिने नायल तालमा समेत सरकारको ध्यान पुग्न सकेको छैन । प्राकृतिक सौन्दर्यताले भरिभराउ भए पनि संरक्षण र संर्वद्धन नहुँदा तालको अस्तित्व गुम्दै गएको छ । बर्खामा डाडाँहरुबाट आउने भेलले बर्सेनि ताललाई पुर्दै लगिरहेको छ । त्यति मात्रै नभई बर्खाको भेलका कारण तालमा पानीको बहाव बढी हुँदा तालको बाँध समेत भत्किने गरेको छ । जसका कारण तालमा भएको पानी पनि कम हुँदै जान थालेको छ ।

maya metro hospital

पर्यटकिय क्षेत्रका हिसाबले हेर्दा नायललाई नगरकै सबैभन्दा उत्कृष्ट क्षेत्रका रुपमा लिन सकिन्छ । हराभरा जंगलका बिचमा गाउँ छ, गाउँको एउटा छेउमा डाँडाहरुको बिचमा ताल छ, त्यतिमात्रै नभई कैलाली, कञ्चनपुर, डडेल्धुराको संगमस्थल पनि सो गाउँलाई लिन सकिन्छ । त्यहाँको ताल वरपर विभिन्न शक्तिपिठहरु रहेका छन । सो शक्तिपिठहरुमा वर्सेनि विभिन्न क्षेत्रबाट श्रद्धालु भक्तजनहरु पुजापाठका लागी आउने गर्दछन् । पुरानो र फरक इतिहास बोकेको ताललाई त देवता र राजाको लडाईको ईतिहासले पनि चिनाउने गरेको छ । प्राचीन कालमा गणपति राजा र देवता बीच धर्मको रक्षाका लागि लडाई भएको स्थान नायल ताल भएको त्यहाँका ज्येष्ठ नागरिकहरुले बताउने गरेका छन ।

राजाले मासु बिना खाना नै नखाने र जंगलका जनावरहरू सकिए पश्चात् सेनाहरूले मानिस काटेर भए पनि राजाको भोक मेटाउने गर्न थालेपछि उक्त क्षेत्रमा मानिसको अस्तित्व जोगाउन देवतालाई बोलाईएको बताईन्छ । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा रहेको नायल ताल विचित्र र ऐतिहासिक भएपनि यसको संरक्षण र संवद्र्धन भने अझै हुन सकेको छैन । राजा र देवताको लडाई मात्रै नभई बटुवाका लागि खिर पाकेको भाँडा आउने सम्मको इतिहास नायलको छ ।

attariya hospital

नायलको अवस्था दिनानुदिन नाजुक बन्दै जाँदा पनि सरोकारवाला निकायको नजरमा भने पर्न सकेको छैन । नायल क्षेत्रमा विकासका पूर्वाधार पुग्नसके यसलाई पर्यटकीय हब बनाउन सकिने कुरामा दुईमत छैन । तर, देशमा संघियता आएर तीन तहका सरकार आएको ८ वर्ष बित्नै लाग्दा पनि नगरलाई चिनाउन सक्ने नायलको विकासमा कसैले ध्यान दिन सकेको छैन । त्यहाँका नागरिकहरुले विकासको अनुभुति अझै गर्न पाएका छैनन् । उक्त वडामा रहेका नायल, चाप, सल्ली, सीम लगायतका क्षेत्रहरु अझै पनि विकट क्षेत्रकै रुपमा गनिन्छन् । ती क्षेत्रहरुमा विकासका अनिवार्य पूर्वाधारहरु पनि छैनन् ।

सडक व्यवस्थीत छैन, ट्रयाक खोलिएको सडकको मर्मत समेत हुदैन । वर्खामा पानीले विगार्ने सडक हिउँदमा जसोतसो चल्न लायक बनाईन्छ । सडकको दिगो व्यवस्थापन नहुँदा नै नायलबासी विपद्मा पर्न गरेका छन । सुत्केरी हुँदा, कोही विरामी पर्दा या बालबालिकाहरुलाई स्कुल जाँदा समस्या सडककै अभावका कारण समस्या हुने गरेको छ । सडककै अभावका कारण नायलको उत्पादीत वस्तुले बजार पाएको छैन ।

नायलमा स्वरोजगारका अथाह सम्भावना हुँदाहुदै पनि स्थानियबासीहरु विदेशिन बाध्य छन् । पर्यटकीय क्षेत्रका रुपमा नायलको विकास गर्नसके मात्रै पनि नायलका धेरै युवाहरुलाई स्वदेशमै रोक्न सकिने अवस्था छ । त्यसका लागि पूर्वाधारहरुको विकासलाई सरकारले पहिलो प्राथमिकता दिन आवश्यक छ । भविष्यमा सरकारलाई आर्थिक रुपमा सबल बनाउन सक्ने र रोजगारी सृजना गर्न सक्ने खालका योजनाहरु नायलमा ल्याउन सके सरकारले त्यसको दोहोरो फाइदा लिन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.