अत्तरियामा पार्क निर्माण गरौं

कैलालीको अत्तरियालाई सुदूरपश्चिम प्रदेशको मुख्य प्रदेशद्धारका रुपमा लिने गरिन्छ । त्यतिमात्रै नभई प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिकाको मुख्य बजार पनि यही नै हो । अत्तरिया बजार भएर नै सुदूरपश्चिमका ९ ओटै जिल्ला मात्रै नभई पुर्वतिर जाने यात्रुहरु ले आवतजावत गर्ने गर्दछन् । प्रदेशकै सबैभन्दा बढी महत्व भएको क्षेत्र भएको अत्तरियामा हालसम्म एउटा पार्क समेत निर्माण हुन सकेको छैन ।

Karma Consultancy

अव्यवस्थित रूपमा सहरीकरणको विस्तार भईरहेपनि पार्क निर्माण गर्ने योजनाले भने सार्थकता पाउन सकेको छैन । सहर भित्र यातायात, खानेपानी, फोहोर व्यवस्थापन सँगै पार्क र मनोरञ्जनका साधनको आवश्यकता पर्ने गर्दछ । तर, अव्यवस्थित रूपमा विस्तार भइरहेको अत्तरियामा खुला क्षेत्र मासिँदै जाँदा पार्कको भविष्य के हुने भन्ने अन्योल छ । अत्तरियामा पार्क बनाउने योजना ७ वर्ष अघि नै ल्याइएको थियो । नगरपालिकाले पार्क निर्माणको लागि अत्तरियाको पूर्व रोडमा रहेको दुर्गा मन्दिर पछाडिको क्षेत्रमा २० लाख खर्चेर घेर बार समेत गरेको थियो । करिब ६ हेक्टर क्षेत्रमा नगरपालिकाले पार्क निर्माण गर्ने भन्दै डिपिआर समेत बनाएर बजेट सुनिश्चितता हुँदा पनि पार्क भने बन्न सकेन ।

citizen security services

अत्तरियामा पार्क बनाउने योजना पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रममा छनोट भएको थियो । पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमले देशभरिबाट योजना माग गर्दा छनोट भएका २ सय योजनामा अत्तरिया पार्क पनि परेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार विकास तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका, २०७७ अनुसार प्रदेश र स्थानीय तहको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रम अन्तर्गत अत्तरिया पार्क छनोट गरेको थियो ।

attariya hospital

जसअन्तर्गत मन्त्रालयले ३ करोड २२ लाख विनियोजन गरेको थियो । जसमा नगरपालिकाले ३० प्रतिशत अर्थात् १ करोड ७२ लाख छुट्याउनु पर्ने थियो । तर, पछि नगरपालिकाले पार्कका लागि डिपिआर गरेको क्षेत्रमा वन कार्यालयले सशस्त्र वन रक्षक तालिम केन्द्र निर्माण गर्ने भन्दै जग्गा ओगटेपछि पार्कको योजना हाल सम्म पनि अलपत्र छ । पार्क निर्माणका लागि आवश्यक थप जग्गा उपलब्ध गराउन सुरक्षा सामुदायिक वनले सहमति जनाए पनि त्यसपछि पार्क निर्माणमा नगरपालिकाले नै चासो नदिँदा उक्त योजना अलपत्र परेको हो ।

पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रममा पार्क निर्माणका लागि खरिद प्रक्रिया र ठेक्का सम्झौता पालिकाले गर्नुपर्ने उल्लेख थियो । बहुवर्षिय उक्त योजना २०८० फागुन मसान्त सम्म सम्पन्न गर्नुपर्नेमा गोदावरीमा भने कसैले चासो नै नदिँदा योजना त्यत्तिकै तुहिएको छ । पुराना जनप्रतिनिधिले पार्कको योजना अगाडि बढाएका भए पनि त्यो किन रोकियो भन्नेबारे नयाँ आएका जनप्रतिनिधिलाई जानकारी छैन । नयाँ जनप्रतिनिधिले पार्कको योजनालाई मुर्त रुप दिने विषयमा ध्यान समेत दिन सकेका छैनन् । सहरीकरणको विस्तार भइरहदा पार्क निर्माणले शहरको सुन्दरता र यहाँको वातावरणलाई सन्तुलित बनाउन मद्दत गर्छ ।

त्यतिमात्रै नभई यहाँका नागरिकहरुलाई शान्त एवम् मनोरम वातावरणमा बस्ने स्थान बन्छ भने पर्यटकहरुलाई लोभ्याउन पनि सकिन्छ । आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई लोभ्याउन सके यहाँको आम्दानीको स्रोतमा पनि वृद्धि हुन सक्छ । तसर्थ अत्तरियामा यथाशिघ्र पार्क निर्माणको प्रकृया अगाडी बढाउन सम्बन्धीत निकायले तदारुकता देखाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.