वर्खा सुरु भैसकेको छ । विगतका वर्षहरु जस्तै यसवर्ष गर्मिको मौषम सुरु भैसकेको छ । यसवर्ष चैत महिनादेखी नै गर्मि सुरु भैसक्दा जेठ असारमा गर्मी अत्याधिक बढी हुने देखिन्छ । गर्मी बढी हुँदा जायज रुपमा नागरिकहरुले पंखा, एसी, फ्रिज लगायतका विद्युतिय सामग्रीहरुको प्रयोग अत्याधिक मात्रामा गर्नेछन । यस्तो अवस्थामा विद्युतको पावर कम भएको र सबै क्षेत्रमा विजुली पु¥याउन नसकिएको भन्दै विद्युत प्राधिकरणले लोडसेडिङ्ग गर्ने गरेको छ ।

नेपालमा विद्युतको जडित क्षमता तीन हजार मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेचिरहेको पनि छ । बंगलादेशलाई बेच्ने तारतम्य छ । यस्ता खबरले नेपालमा बिजुली छेलोखेलो भएको आभास दिन्छ । तर, वास्तविकता के भने हिउँदको सुक्खायाममा नेपालमा ७ सय मेगावाटमात्रै बिजुली उत्पादन हुन्छ । हिउँदमा कम उत्पादन हुने भएपनि नेपालमा खासै लोडसेडिङ्ग हुने गरेको छैन । तर गर्मी समयमा बढी उत्पादन हुँदा पनि लोडसेडिङ्ग हुने प्रवृत्ति नेपालमा छ । केही समय देखी लोडसेडिङ्गको मात्रामा कमी आएपनि अझै यसको समस्या झेल्नुपर्ने त हैन भन्ने त्रास आम मानिसमा छ । नेपालमा अहिले १८ सय मेगावाट बिजुलीको माग छ । तर, एकतिहाइभन्दा बढी अपुग हुन्छ । त्यही पूर्तिका लागि भारतको भर पर्नु परिरहेको छ । जसका कारण नागरिक लोडसेडिङ्गको बढी मारमा पर्ने गरेका छन ।

नेपालमा जलविद्युतको अपार सम्भावना हुँदाहुँदै अझै पनि बिजुलीमा भारतको भर पर्नु बिडम्बना हो । निर्माणाधीन आयोजनाहरू पूरा भए पनि त्यतिका परिणामको उत्पादन हुँदैन । वर्षाै अघि देखी सुरु भएका जलविद्युत आयोजनाहरुको निर्माण कार्य ठप्प छ । पानीमा विश्वकै दोस्रो ठुलो देशका रुपमा हेरिने नेपालमा विद्युतको उत्पादन कम हुनु यहाँको राजनैतिक क्षेत्रका लागि पनि लज्जाको विषय हो । पुराना दलका नेताहरुले देशलाई खोक्रो बनाईसकेको अवस्थामा तत्काल नयाँ शक्तिका रुपमा उदाएका नेताहरुले पनि देशलाई सबै भन्दा बढी फाईदान दिन सक्ने जलविद्युतको उत्पादनका विषयमा ध्यान दिन सकेका छैनन् । वर्षाैदेखी बनिरहेका जलविद्युतहरुको निर्माण कार्यलाई मात्रै पनि तिब्रता दिन सके नेपालको अर्थव्यवस्थामा पनि कायापलट हुन सक्छ ।
अहिलेको आधुनिक समयमा विभिन्न कलकारखानाका साथै वैज्ञानिक उत्पादनका लागि पनि विद्युत अनिवार्य छ । विद्युतको उत्पादनमा वृद्धि गरी देशलाई बढी भएको विद्युत बाह्य देशहरुलाई विक्रि गर्न सकिन्छ । जसले यहाँका जनताहरुको लोडसेडिङ्गको समस्या समाधान हुनुका साथै देशलाई आर्थिक रुपमा पनि लाभ हुन जान्छ । तसर्थ विगतका जस्तो लोडसेडिङ्गको समस्या समाधान गर्न यथाशिघ्र रुपमा जलविद्युत आयोजनाहरुको निर्माण कार्यमा ध्यान दिन जरुरी छ । त्यसका लागि सत्तामा रहेका नयाँ तथा पुराना नेताहरुले तातिन जरुरी छ । सरकारलाई घचघच्याउन जरुरी छ ।
















