खाेज्नुहाेस

सहकारीबाट सहुलियत ऋण उपलब्ध गराऊँ (सम्पादकीय)

Image

सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवर्धन गर्ने कार्य गरिन्छ । सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ । सहकारी संगठनको त्यो रूप हो जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर कार्य गर्दछन् । सकारीले न्यून आय भएका गरिब किसानलाई सुलभ र सस्तोमा कर्जा उपलब्ध गराउने गरेको भनिँदै आएको छ । तर, वास्तवमा अवस्था फरक छ ।

ग्रामीण भेगमा सहकारीले विना धितो ऋण लगानी गर्दै आएका भए पनि तिनको व्याज निकै चर्को हुने गरेको छ । घरजग्गा कारोबार, सवारी साधन खरिदका लागि भन्दा पनि ग्रामीण भेगमा बाख्रा, कुखुरा पालन गर्ने किसानलाई महँगो व्याजमा ऋण दिइँदै आएको छ । यस्ता किसानले व्यवसाय गर्दा हुने नाफा भन्दा बढी व्याज तिर्नुपर्दा कहिल्यै व्यवसाय माथि उठ्न नसक्ने अवस्थामा पुगेका धेरै उदाहरण भेटिन्छन् । नेपालमा सञ्चालन अनुमति लिएका ३०,००० सहकारी संस्थाहरूमा ७३ लाख मानिसहरूको चार खर्ब ७८ अर्ब रुपैयाँ बचत रहेको नियामक सहकारी विभागले जनाएको छ । तर, अधिकांश सहकारीले आफ्ना उपभोक्तालाई दिने ब्याजदर भने १६ देखि १८ प्रतिशत सम्म रहने गरेको हुन्छ ।

attariya hospital
navjiwan hospital

ठुला व्यवसाय गर्ने व्यवसायीलाई दोहोरो अंकको ब्याजदर हुन हुँदैन भनेर वकालत गर्नेहरूले सानो लगानीमा सानो व्यवसाय गर्नेबाट १८ प्रतिशत व्याज असुल्दा पनि कहीँ कतै आवाज उठाएको पाइँदैन । त्यसैमाथि सेवा शुल्क सेयर, बचत वृद्धिका नाममा १० प्रतिशत सम्म रकम काटिने गरेको छ । एक लाख ऋण लिँदा १० हजार काटेर दिने र ऋण लिएको १ महिनामै किस्ता सावा उठाउन सुरु गर्दा किसान तथा साना उद्यम गर्न चाहनेले लगानी लगाउन सक्ने अवस्था नै बन्ने गरेको छैन ।

ऋणी लिएको प्रतिफल आउन नपाउँदै साना व्यवसायीले सहकारीको व्याज किस्ता तिर्नकै लागि अर्को ऋण लिनुपर्ने अवस्था सृजना हुने गरेको छ । पछिल्लो समय सहकारीहरूले बचत गर्ने प्रणाली पनि आफूअनुकुल बनाउने गरेका छन् ।

मासिक बचत गर्नुपर्ने तर, त्यो रकम फिर्ता लिन नपाउने अथवा पाए पनि १५ वर्ष/२० वर्ष कुर्नुपर्ने अवस्था छ । अगाडि बचत निकाल्न चाहे व्याज नपाइने, सहकारीमा सबैको ऋण चुक्ता भएको हुनुपर्ने लगायतका सर्त राखिन्छन् । जसले गर्दा मासिक रूपमा पसिना बगाएर गरेको बचत पनि चाहेको समयमा प्रयोग गर्न नपाउने अवस्था छ । विभागका अनुसार पछिल्लो एक वर्षको अवधिमा सहकारीले बचतको रकम नदिएको विषयमा ३०० भन्दा बढी उजुरी परेको कुराले पनि सहकारीमा हालीमुहाली भएका केही व्यक्ति अनुकूल नीति बनेको प्रस्ट हुन्छ ।

त्यसले सहकारीले नाफा कमाउने होडबाजिमा केही व्यक्तिको फाइदा हुने गरी मात्रै नभएर साना उद्यमीको हितका लागि काम गर्न आवश्यक छ । राज्यले सहुलियतमा दिने ऋण ठुला बैङ्कबाट ठुला उद्यमी व्यवसायी लक्षित गरी दिनुभन्दा साना व्यवसायीको पहुँच भएका सहकारी मार्फत दिने व्यवस्था गर्नुपर्छ ।