अत्तरिया – गोदावरी नगरपालिकाको १७ औँ नगर सभाको बन्द सत्रको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३० करोड ५ लाख ८२ हजारको बजेट पेस गरिएको छ । यसअघि खुला सत्रको आयोजना गरी नीति कार्यक्रम र बजेट सार्वजनिक गर्ने परम्परा तोड्दै नगरपालिकाले यस पटक सिधै बन्द सत्रमै बजेट पेस गरेको छ ।
नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा बसेको नगर सभामा सहभागी प्रमुख प्रशासकीय अधिकृत, नगर सभाका सदस्य, नगरपालिकाका कर्मचारी, नगर प्रहरी समक्ष उपप्रमुख शारदा देवी रोकायाले बजेट पढेर सुनाएकी थिइन् ।


नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण २० करोड १० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँट २६ करोड २१ लाख, समपूरक अनुदान–संघीय सरकार १ करोड ८३ लाख, विशेष अनुदान–संघीय सरकार १ करोड ५ लाख, सशर्त अनुदान–संघीय सरकार ४३ करोड ८९ लाख, वित्तीय समानीकरण–प्रदेश सरकार १ करोड ९१ लाख २२ हजार, राजस्व बाँडफाँड–प्रदेश सरकार ५९ लाख ९६ हजार, समपूरक अनुदान–प्रदेश सरकार ३० लाख ९२ हजार,सशर्त अनुदान प्रदेश सरकार १२ करोड ११ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै आन्तरिक आय १६ करोड ४१ लाख ५६ हजार २ सय र बैङ्क मौज्दात ५ करोड ६३ लाख १५ हजार ८ सय गरी जम्मा १ अर्ब ३० करोड ५ लाख ८२ हजार आय प्राप्त हुने अनुमान गरिएको छ ।
नगरपालिकाले छुट्याएको कुल बजेट मध्ये पूर्वाधार विकासतर्फ ४२ करोड ३९ लाख ७७ हजार, आर्थिक विकास तर्फ २ करोड ३६ लाख, सामाजिक विकास तर्फ १४ करोड २० लाख ५ हजार, वन वातावरण तथा विपद् व्यवस्थापन ६५ लाख, सुशासन तथा संस्थागत विकास तर्फ ६८ लाख, कार्य सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ६९ करोड ७७ लाख हुने अनुमान गरिएको छ । कुल बजेटको चालु तर्फ ६७.४ प्रतिशत र पुँजीगत तर्फ ३२.६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।


















