गोदावरीमा अवैध उत्खननमा प्रयोग भएका सवारी माथि कारवाही भएन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका नदीहरूमा अवैध उत्खननमा प्रयोग भएका सवारी साधनलाई कारवाही गर्ने प्रक्रिया अझै अगाडि बढेको छैन । माघ २१ गते गोदावरीका नदीहरूबाट नियन्त्रणमा लिइएका १९ वटा सवारी साधन प्रहरी नियन्त्रण भएपनि कारवाही प्रक्रिया भने अगाडि नबढेको हो ।

maya metro hospital

आइतबार जिल्ला अनुगमन तथा व्यवस्थापन समितिले गोदावरीका खुटिया, खैराना र गोदावरी नदीमा अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका १९ सवारी साधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेको थियो । जसमा १० टिप्पर, ३/३ वटा जेसीबी, स्काभेटर र ट्याक्टर रहेका छन ।

ति सवारी साधनलाई कस्तो कारवाही गर्ने भन्ने बारे कुनै निर्देशन नआएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले बताएका छन । उनले के कारवाही गर्ने भन्ने बारेमा माथिको निर्देशन पर्खेर बसेको बताए ।

attariya hospital

जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समिति (जिसस) का कार्यवाहक प्रमुख खगराज भुषालले कानुन अनुसार कारवाही हुने बताए । ‘अब कानुन अनुसार होला । हामी छलफलमै छौ’ उनले भने ‘के कारवाही गर्ने कानुन अनुसार हुन्छ । मापदण्ड विपरित काम गर्नेलाई प्रदेशको कानुन अनुसार कारवाही हुन्छ ।’ उनले अनुगमन पछि गोदावरीका नदीमा नदीजन्य पदार्थ उत्खननको काम रोकिएको बताए ।

अनुगमनका क्रममा नदीहरूमा मापदण्ड भन्दा बढी गहिरो खनेर उत्खनन गरिएको, नदीमै घाटगद्दी गरिएको पाइएको थियो । सुदूरपश्चिम प्रदेशको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधिमा नदीजन्य पदार्थ संकलन गरेर घाटगद्दी गर्दा संकलन स्थलबाट न्यूनतम ५ सय मिटर दुरी कायम गर्नुपर्ने उल्लेख छ । त्यसो नगरिएर बिक्री मूल्यको दोब्बर रकम असुर गरिने उल्लेख छ । यस्तै कार्यविधिमा नदीजन्य पदार्थको उत्खनन, संङ्कलन, भण्डारण र प्रशोधनको कार्य गर्ने उद्योगका लागि स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कनका शर्त उल्लङ्घन गर्न नहुने उल्लेख छ । निषेधित कार्य गरेको पाइएमा प्रचलित कानूनमा व्यवस्था भए बमोजिम दण्डनीय हुने उल्लेख छ ।

प्रदेशको कार्यविधि अनुसार नदीजन्य पदार्थ संकलन वा उद्योग स्थापना र सञ्चालन कार्यको प्रस्ताव कार्यान्वयन हुनुपूर्व, कार्यान्वयन गर्दा र कार्य सम्पन्न भैसकेपछि वातावरणमा पर्ने प्रभावको अध्ययन, विश्लेषण गरी सुझाव दिनको लागि ९ सदस्यीय जिल्ला अनुगमन तथा व्यवस्थापन समिति रहने प्रावधान छ । उक्त समितिले कारवाहीको लागि सुदूरपश्चिम सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा सिफारिस गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ ।

यसैबीच गोदावरी नगरपालिकाको ९५ औं कार्यपालिका बैठकले पनि नियम मिचेर नदीजन्य पदार्थ उत्खनन वा ढुवानी गरेमा ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने निर्णय गरेको थियो । जसअनुसार ट्याक्टरलाई ५० हजार, टिप्परलाई ७० हजार र जेस्काइभेटर/भ्याकुलोडर/विसिलाई १ लाख जरिवाना तोकिएको छ । यस्तै निर्णयमा नियम मिचेर नदीजन्य पदार्थ उत्खनन गरेको वा ढुवानी गरेको सूचना दिनेलाई २० प्रतिशत प्रोत्साहन रकम दिने उल्लेख छ ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जिल्लामा मिटिङ बसेर के कारवाही गर्ने निर्णय गरिने बताए । उनले हाल उत्खननको काम पनि आंशिक रुपमा रोकिएको बताए । उनले नगरपालिकाले पनि जरिवाना तोकेकाले सोही अनुसार कारवाही हुन सक्ने बताए ।

गोदावरीमा ३ वटा नदीमा हाल नगरपालिकाले नै आफै कर्मचारी परिचालन गरी नदीजन्य पदार्थ संकलन गर्दै आएको छ । नगरपालिकाले ३ पटक सम्म ठेक्कामा दिनका लागि बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि असोज महिनादेखि नै नदीजन्य पदार्थ उत्खनन गर्न थालेको हो । जसका लागि नगरपालिकाले नै मासिक शुल्क निर्धारण गरेर नदीहरूमा उत्खननका लागि जेसिवी, स्काभेटर लगाएको छ भने कर्मचारी परिचालन गरेर ट्याक्टर, टिप्परबाट रोयल्टी संकलन गर्दै आएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.