काठमाडौँ- अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित फिल्म ‘सिटामोल’को क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । यतिबेला सिन्धुली क्षेत्रमा छायांकन भइरहेको राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’ले शीर्ष पात्रको लुक्स सार्वजनिक गरेको हो ।

तस्वीरमा यी दुई कलाकारलाई ग्रामीण दम्पतीको स्वरुपमा देखाइएको छ । फिल्ममा बुद्धि तामाङ, ज्ञानु सुनार र ध्रुव दत्त पनि छन् । यसअघि सौगात र बेनिशाले ‘झ्यानाकुटी’मा समेत स्क्रिन सेयर गरेका थिए ।

निर्देशक सानेले नेपाली समाजको वास्तविक घटनालाई फिल्मले चित्रण गर्ने बताए । ‘हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ,’ उनले भने ।
निर्देशक सानेले यसअघि ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’ आदि फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मलाई अर्को वर्षको तीजमा रिलिज गर्ने निर्माण टिमको योजना छ ।