नेपालमा कृषिमा आत्मनिर्भर समुदाय बढी छ । पुख्र्यौली पेशालाई अबलम्बन गर्दै कृषिमा लागेका समुदायले मात्र गर्दै आएको कृषि कार्य पछिल्लो समय युवापुस्ताहरुले पनि अपनाएका छन । रोजगारीको एउटा व्यवस्थीत र भरपर्दाे माध्यमका रुपमा पछिल्लो समय कृषि पेशालाई लिने गरिएको छ । युवाहरुलाई कृषिमा उत्प्रेरित गर्न सरकारले पनि अनुदानका कार्यक्रमहरु ल्याएको छ भने सहुलियत रुपमा ऋण उपलब्ध गराउने कार्य पनि हुदै आएको छ ।

तर कृषिमा रासायनिक मल तथा रासायनिक पदार्थको बढ्दो प्रयोगले कृषि उत्पादन भने निरन्तर घटिरहेको छ । कृषिमा संलग्न अधिकांश किसानले रासायनिक मल तथा पदार्थको प्रयोग गर्दै आएका छन । रासायनिक मलको प्रयोग बढ्दा त्यसको असर उर्वर माटोमा परिरहेको छ । रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्ति नास हुँदा त्यसको असर मानविय स्वास्थ्यमा समेत पर्दैछ । रासायनिक मलको बढ्दो प्रयोगले मानवीय स्वास्थ्यमा असर गर्ने मात्रै नभई यसको प्रयोगले जल प्रदुषण हुने, वायु प्रदुषण गर्ने, माटोको उर्बरा शक्ति ह्रास हुने, माटोको बनोट परिवर्तन हुने लगायतका विभिन्न असरहरू हुने गर्दछन् ।

किसानले खेतबारीमा प्रयोग गर्ने रासायनिक मल बिभिन्न माध्यमबाट पानीका स्रोतहरूमा मिसिई पानीलाई प्रदूषित बनाउने गर्दछ । जसको प्रयोगले मानव स्वास्थ्य मात्र होइन, अन्य जलचर प्राणीहरुलाई समेत प्रतिकूल असर गर्दछ । त्यतिमात्रै नभई यसको बढ्दो प्रयोगले बिरुवामा पातहरु पहेलिने, झर्ने, जल्ने तथा काण्डहरु खुइलिने र अन्तिममा बिरुवा नै मर्ने जस्ता लक्षणहरू देखिन्छन् ।

विशेषगरी नाइट्रोजन परिपूर्ति गर्न युरिया जस्ता मलको अनियन्त्रित प्रयोगले पातहरु जल्ने समस्या बढी हुन्छ । यस्तै रासायनिक मलको प्रयोगले सुक्ष्म जीवाणुहरुलाई समेत असर गर्दछ । स्वस्थ माटोमा थुप्रै उपयोगी र फाइदाजनक सूक्ष्म जीवाणुहरू रहेका हुन्छन् । प्राङ्गारिक मलको प्रयोगले त्यस्ता सूक्ष्म जीवाणुहरुलाई व्यापक फाइदा पुग्छ भने रासायनिक मलको प्रयोगले सूक्ष्म जीवाणुहरूका गतिविधिलाई निष्क्रिय पारिदिन्छ । माटोलाई स्वस्थ बनाउन र पोषक तत्वहरुलाई चलायमान बनाउन भरपुर सघाउने त्यस्ता उपयोगी सूक्ष्म जीवाणुहरू रासायनिक मलको प्रयोगले नष्ट भएमा वा तिनीहरूको गतिविधिमा प्रतिकूल असर परेमा उत्पादन र माटोको स्वास्थ्य दुवै जोखिममा पर्दछन् ।
रासायनिक मलको प्रयोगले माटोको बनोट परिवर्तन गर्ने कार्य पनि गर्दछ । यसले माटोमा सल्फ्युरिक र हाइड्रोक्लोरिक अम्लको मात्रा बढाइदिन्छ । जसले माटोलाई फुक्न दिँदैन र माटोका कणहरुलाई एकआपसमा बाँधेर माटोलाई नरम र खुकुलो हुनबाट पनि रोक्छ । जसका कारण माटोको सतह कडा भएर पानी र हावाको आवतजावतमा समेत असर पुग्छ भने त्यसले गर्दा माटोको क्षयिकरण हुन्छ । त्यसैकारण माटोको उर्वराशक्तिमा पनि यसले असर पु¥याउने गर्दछ । रासायनिक मलको प्रयोगले अप्रत्यक्ष रुपमा वायु प्रदुषण पनि गर्ने गर्दछ । विशेषगरी नाइट्रोजन युक्त मलहरूको प्रयोगले वायुमण्डलमा नाईट्रोस अक्साईड जस्ता हानिकारक ग्यासहरुको मात्रा बढाइरहेका छन् । यस्ता ग्यासहरूको प्रत्यक्ष प्रभाव हरितगृहमा परिरहेको छ ।
रासायनिक मलका विभिन्न असरहरु हुँदाहुदै पनि क्षणिक उब्जनीको स्वार्थमा अझै पनि कृषि क्षेत्रहरुमा यसको प्रयोग बढीरहेको छ । यसको प्रयोगले एकदिन माटोको उर्बराशक्ति नाश हुने र उत्पादन कम हुने समस्या आउने कुरामा दुई मत छैन । त्यसैले कृषि उत्पादनमा प्रयोग गरिदै आएको रासायनिक मलको प्रयोग कम गरी कृषि क्षेत्रमा जैविक पद्धतीको विकास गरौ । जैविक रुपमा मल तथा अन्य किटनाशक पदार्थहरुको उत्पादन गरेर यसको प्रयोगलाई बढाउन आवश्यक छ ।
