बाल विवाह भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनी तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ । सामान्यतया १८ वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आआफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ । नेपालको कानुन अनुसार बालबालिका दुवैको लागि २० वर्ष पुगिसकेपछि विवाह गर्न उपयुक्त उमेर भनी तोकिएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ मा बाल विवाह गर्दा कानुनी सजाय हुने व्यवस्था छ । २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनुका साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ । विवाह गर्ने उमेर विवाह गर्ने व्यक्तिको (महिला र पुरुष दुवैको) बीस वर्ष हदम्याद हो भने बाल विवाह भएको थाहा पाएको मितिले ३ महिना सम्म बाल विवाहको उजुरी दिन सक्ने व्यवस्था रहेको छ । बालबालिका सम्बन्धी ऐन २०७५ को उपदफा ६६ (२) (ण) मा बालबालिकासँग विवाह गर्नु गराउनु बालबालिका विरुद्धको कसुर मानेको छ र दफा ६७ मा त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरूले दश वर्षसम्म बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजी क्षेत्रमा काम गर्न, मनोनित हुन वा निर्वाचित हुन नपाउने व्यवस्था छ ।
विवाह गर्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो तर कम उमेरमा विवाह गर्नुगराउनु जीवन र लक्ष्यको बर्वादी गर्नु हो । बालविवाहलाई नेपालको कानुनले अपराध मानेपनि कतिपय स्थानहरूमा अझै पनि बालविवाह गर्ने चलन रहेको छ । २०३० सम्ममा नेपालबाट बालविवाह निवारण गर्ने लक्ष्य सरकारको छ । सोही अनुसार विभिन्न पालिकाहरूले पनि बालविवाह न्यूनिकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरिरहेका छन ।
तर ति कार्यक्रमहरू सहरमुखी मात्रै हुने गरेका कारण गाउँतिरका मानिसहरूले अझै बालविवाहका नकारात्मक पक्षहरूका बारेमा जानकारी पाउन सकेका छैनन् । अझै पनि परम्परागत चलन, अशिक्षा, देखासिखी, आर्थिक पछौटेपन, मायापिरतीका कारण बाल विवाह हुने गरेका छन । जुन ग्रामीण भेगहरूमा बढी हुने गरेका छन । ग्रामीण भेगहरूमा पनि बालविवाहका नकारात्मक पक्ष र त्यसका कानुनी कारबाहीको बारेमा जानकारी दिन सके बालविवाह न्यूनिकरण गर्न सकिन्छ । तसर्थ सहरमैत्री मात्रै नभई जनचेतनामूलक कार्यक्रमहरू ग्रामीण भेगहरूमा पनि पु¥याउन जरुरी छ ।
सरकारको लक्ष्य अनुसारका बालविवाह न्यूनिकरण गर्नका लागि सबैभन्दा उपयुक्त विकल्प जनचेतना हो । जुन सहर क्षेत्र भन्दा ग्रामीण भेगमा अति आवश्यक छ । त्यतिमात्रै नभई शिक्षित वर्गहरुले पनि बालविवाह र यससँग सम्बन्धित नकारात्मक क्रियाकलापहरू नगरौं । बालविवाह गर्ने र गराउने व्यक्तिहरूलाई सकेसम्म बालविवाहका समस्या र कानुनी अड्चनहरूको बारेमा जानकारी दिनुपर्दछ । यदि चेतनशील व्यक्तिले नै कानुन मिचेर त्यस्तो गरिरहेको छ भने त्यसलाई अनिवार्य रुपमा कारबाहीको दायरामा ल्याउन जरुरी छ । जसले भविष्यमा बालविवाह गर्न खोज्ने व्यक्तिहरूलाई पनि चेतना मिलोस् ।