खाेज्नुहाेस

कैलालीमा सिआरडिआरआरको एक वर्षे कार्यहरुका बारेमा समिक्षा गोष्ठी आयोजना

Image

अत्तरिया – कैलालीमा जलवायु उत्थानशिलता तथा विपद् जोखिम न्यूनिकरण (सिआरडिआरआर) परियोजना को वार्षिक समिक्षा गोष्ठी आयोजना गरिएको छ । डडेल्धुराको परशुराम नगरपालिकामा सञ्चालित उक्त परियोजनाको एक वर्षका कार्यहरुका बारेमा कैलालीमा समिक्षा गरिएको हो । अक्सफामको सहयोग र परशुराम नगरपालिकासँगको समन्वयमा निड्स नेपालले परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाले एक वर्षको अवधीमा गरेका कामकारबाहीहरुका बारेमा धनगढीमा २ दिनसम्म समिक्षा गोष्ठी आयोजना गरिएको थियो ।

गत वर्ष माघ १ गतेदेखी नगरपालिकाको वडा नं. ५, ६, १० र १२ मा सुरु भएको परियोजनाले उक्त वडाहरुको विपद् न्यूनिकरणका लागि विभिन्न कार्यहरु गरेको परियोजना संयोजक हेमन्त बहादुर शाहीले जानकारी दिए । उनले परियोजनाबाट नगरका १ हजार घरधुरीका करिब ५ हजार परिवारहरु लाभान्वीत भएको बताए ।

attariya hospital

उनका अनुसार परियोजनाले विपद्का क्षेत्रहरुमा बाढीको प्रकोप रोकथाम गर्न चेक ड्याम निर्माण गर्ने, सिँचाई सुविधाका लागि उपयोगी उपकरणहरुको आवश्यकता अनुसार उपलब्धता तथा मर्मत सम्भार गर्ने, किसानले गरेका साना सिँचाई योजना निर्माण तथा मर्मत सम्भार गर्ने, कृष उपज संकलन तथा व्यवस्थीत बजारीकरणका लागि केन्द्र स्थापना वा मर्मत गर्ने, नदी कटानको सामान्य नियन्त्रणका लागि वृक्षारोपण गर्ने तथा घेरबार र हेरालु परिचालन गर्ने लगायतका कार्यहरु गरेको छ ।

navjiwan hospital

यस्तै बाढीप्रभावित घरधुरीहरुलाई आवश्यकताका आधारमा जिविकोपार्जनका लागि कृषि सामग्री तथा विउविजन सहयोग गर्ने, त्यस्ता परिवारलाई कृषि औजार, सामग्री तथा मलखाद सहयोग गर्ने, त्यस्ता परिवारको जमिन सुधार गर्ने लगायतका कार्यहरु समेत परियोजनाले सञ्चालन गरेको उनले बताए । त्यतिमात्रै नभई किसानहरुलाई कृषि कार्यमा सहजताका लागि पोलिहाउस निर्माण कार्य समेत परियोजनाले गरेको छ भने तरकारीका विउविजनहरु पनि वितरण गरिएको छ ।

परियोजना अन्तरगत बाढीले क्षति पु-याएका जमिनको सुधार गर्ने कार्य एकदमै प्रभावकारी भएको हुँदा समुदायको माग बमोजिम परियोजनाले पुनः उक्त कार्यलाई निरन्तरता दिने संयोजक शाहीले बताए । जमिन सुधार कार्यक्रम प्रभावकारी हुँदा नै १७ रोपनी जमिनमा ५८ बोरा धान फलाउन सफल भएको उनको भनाई छ ।

दुई दिन सम्म चलेको समिक्षा गोष्ठी शनिबार सम्पन्न भएको थियो । समापन कार्यक्रममा बोल्दै परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशीले उक्त परियोजनाले समुदायमा प्रभावकारी रुपमा कृयाकलापहरु संचालन गरेको बताए । उनले परियोजना अवधीमा नगरपालिकासंग वजेट अभावका कारण केही कामहरुमा मात्रै साझेदारी गर्न सकिएको बताउदै उनले आगामी दिनहरुमा यस कार्यक्रमलाइ समुदायमा निरन्तरता दिनका लागि नगरले अझै सहकार्य गर्ने बताए ।

उनले अक्फाम नेपाल र निड्स नेपाललाइ परियोजनालाई निरन्तरता दिन आग्रह गरे । एक वर्षसम्म सञ्चालन भएको परियोजनाको कुल रकम १ करोड १२ लाख ३५ हजार ९१६ रहेको थियो । निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको सभापतित्वमा सञ्चालीत समिक्षा गोष्ठीमा प्रमुख अतिथिको रुपमा नगरप्रमुख जोशी रहेका थिए भने विशिष्ठ अतिथिमा नगर उपप्रमुख बिमला कुमारी बोहरा र प्रमुख प्रशासकिय अधिकृत कृष्णदेव जोशी रहेका थिए । कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, अक्सफामका कार्यक्रम संयोजक श्रीधरी पाण्डेय, सोही संस्थाका शिवानी ढकाल, रचना मुखिया, निड्स नेपालका अनुगमन समिति संयोजक बिमला शाह, संस्थाकै सहसचिव एवम् फोकल पर्सन दुर्गा मल्ल, संस्थाका कार्यक्रम निर्देशक विनोद कडारा लगायत विभिन्न विपद् जोखिम न्यूनिकरण समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।