खाेज्नुहाेस

अत्तरिया बजार व्यवस्थापन गर

Image

कैलालीको अत्तरिया बजार सुदूरपश्चिमकै ट्रान्जिट प्वाईन्टका रुपमा चिनिन्छ । पुर्वपश्चिम दुवै क्षेत्रलाई जोड्ने यो बजारले सुदूरपश्चिमको पहिचान झल्काउने काम गर्दछ । सुदूरपश्चिमलाई समग्र रुपमा अवलोकन गर्न चाहने यात्रु अथवा पर्यटकहरुले अत्तरिया बजार भएर नै पहाडी जिल्लाहरुमा पुग्नुपर्दछ । सुदूरपश्चिमका ९ जिल्लामध्ये ७ वटा जिल्लाहरु पहाडी क्षेत्रमा पर्ने गर्दछन । ति सबै जिल्लाहरुको प्रवेशद्धार अत्तरिया बजार नै हो । अझ त्यसमाथी प्रदेश राजधानी तोकिएको नगरपालिकामा पर्ने भएकाले यसको महत्व अन्यको तुलनामा बढी छ ।

तर पछिल्लो समय अत्तरिया बजार कुरुप बन्दै गएको छ । बजारलाई व्यवस्थित गर्न बनाइएका मापदण्ड लागू नहुँदा बजार कुरूप बन्न थालेको हो । गोदावरी नगरपालिकाले बजारलाई व्यवस्थित गर्न ठेलागाडाले निश्चित समयमा मात्रै व्यवसाय सञ्चालन गर्न पाउने, फुटपाथ खाली गर्नुपर्ने नियम बनाएको थियो । तर, पछिल्लो समय बनाएका नियम कार्यान्वयनमा चासो नदिदा बजार कुरूप बन्न थालेको हो ।

attariya hospital
navjiwan hospital

दशैँ यता बजार क्षेत्रमा तोकिएको भन्दा अन्य समयमा पनि ठेलागाडा राख्ने गरिएको छ भने सटरमा व्यवसाय गरिरहेका व्यवसायीले पनि फुटपाथमा सामान राख्न थालेका छन । नगरपालिकाले गत मंसिर महिनामा बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका पसल अगाडिका पालि हटाएर सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएको थियो । नगरपालिकाले फुटपाथ माथि व्यवसायीले निर्माण गरेका संरचना नहटाएपनि १ वर्ष नपुग्दै पुनः फुटपाथ ढाक्ने गरी पालि निर्माण गर्न थालिएका छन । फुटपाथमा पनि हिँड्नै नमिल्ने गरी सटर भाडामा लिएर बसेका व्यवसायीले ओगटेका छन ।

नगरपालिकाले ठेलागाडा व्यवस्थापनको लागि अत्तरिया बसपार्क र पुर्व रोडको ट्राफिक पोष्ट अगाडिको ठाउँ तोकेको थियो । बिहान ८ बजे सम्म र साँझ ६ बजे पछि भने बजार क्षेत्रमा पनि ठेलागाडा निश्चित स्थानमा राख्न पाउने नियम बनाएको थियो । तर, हाल ठेलागाडाहरुले पनि मनोमानी तरिकाले दिनभरी नै सडक र सर्भिस लेन नै अवरुद्ध हुने गरी व्यवसाय गर्न थालेका छन । यसरी व्यवसायीले सडक र फुटपाथमा रजगज जमाउँदा सवारी चलाउने र पैदल हिड्ने यात्रुलाई भने निकै समस्या हुने गरेको छ ।

नगरपालिकाले बनाएको नितिनियमको पालना नहुँदा स्थानियहरुले सास्ती खेप्नुपरिरहेको छ । त्यसमा नगरपालिकाले पनि नितिनियमहरुको पालनाका लागि पहलकदमी गर्न सकेको छैन । नगरपालिकाले बनाएको मापदण्ड पालना नगर्ने व्यवसायीलाई कानुनी कारबाही गर्नुपर्दछ । जसले व्यवसायीहरुलाई पनि नितिनियमको अवज्ञा गर्ने आँट आउदैन । बजार व्यवस्थापनको मुख्य जिम्मेवारी नगरपालिकाको भएपनि त्यसमा सहयोगी सबैले बन्नुपर्दछ ।

तर अरुले सहयोग गरेनन् भन्दैमा आफु पन्छिने काम नगरपालिकाले पनि गर्नुहुदैन । बजार नगरको सुन्दरताको प्रतिक हो । यसले समग्र नगरको सुन्दरता झल्काउने भएकाले बजारको व्यवस्थापन र सुन्दरतामा ध्यान दिन जरुरी छ ।