शिक्षालाई आधुनिक राज्य निर्माणको मेरुदण्ड मानिन्छ । शिक्षा नै विकासोन्मुख देशको समृद्धिको आधार पनि हो । बालक देखि वृद्धसम्मलाई सिकाईको अवसर र आधार दिने विद्यालय हो । विद्यालय मार्फत बालबालिकाहरुले शिक्षाको आवश्यकतालाई महसुस गर्ने गरेका छन । तर, नेपालमा शिक्षाको अवस्था सबैभन्दा बेहाल छ ।
माध्यमिक तहको शिक्षामा राज्यले लिएको नीतिका कारण शिक्षकहरूले आन्दोलन नै गर्नुप¥यो । यद्दपी शिक्षकहरुसँग सरकारले बुदाँगत सम्झौता गरिसकेको छ ।


पछिल्लो समय विद्यालय क्षेत्रमा फस्टाउदो राजनीतिक खेतीका कारण पनि शिक्षाको गुणस्तर कमजोर हुदै गएको छ । शिक्षा हासिल गर्न आउने विद्यार्थीहरु विद्यालयमा राजनीति गर्न थालेका छन । विद्यार्थीलाई शिक्षा दिने शिक्षकहरु नै राजनीतिक पार्टीप्रति खुलेर लाग्दा विद्यार्थीहरुलाई राजनैतिक पार्टीमा आवद्ध बन्न अझ सजिलो बनेको छ । जसका कारण विद्यालयक्षेत्र पछिल्लो समय राजनीति गर्ने थलो बन्न थालेका छन । विद्यार्थीहरु राजनीतिमा खुलेर सक्रिय बनिरहदा आफ्ना विद्यार्थीलाई सम्झाएर विद्यार्थी जीवनमा राजनीति भन्दा शिक्षा महत्वपुर्ण छ भन्ने कुरा कसैले भन्न सकेका छैनन् ।
त्यतिमात्रै हैन, पछिल्लो समय त आफुलाई शिक्षा दिने गुरुको नै मानमर्दन हुने गरी विद्यार्थीहरुले अपमान गरेको पाईन्छ । शिक्षाको नाममा, विद्यार्थीहरुको मागको नाममा शिक्षा दिने गुरुको मानमर्दन गर्ने हिम्मत विद्यार्थीहरुलाई राजनीतिक दलले दिने गरेका छन । विद्यार्थीले प्राध्यापकलाई मरणासन्न हुने गरी कुट्दा पनि ती विद्यार्थीले सजाय पाउँदैनन् । उल्टै देशका कानुनमन्त्रीहरू अपराधीको बचाउमा खुल्लम खुल्ला उत्रन्छन् । फौजदारी अपराध गर्दासमेत राज्यले छुन सक्दैन भन्ने मनोबलका कारण नै विद्यार्थीहरू विद्यालय, क्याम्पस आफैँ चलाउने आत्मविश्वासमा पुग्छन ।
देशमा विद्यार्थी टिक्ने वातावरण बनाउन सर्वप्रथम विद्यालयस्तरको शिक्षाक्षेत्र गुणस्तरीय बनाउन जरुरी छ । त्यसका लागि विद्यालयक्षेत्रलाई राजनीति मुक्त बनाउनुपर्दछ । राजनीतिरहित शिक्षाले मात्रै विद्यार्थीहरुलाई गुणस्तरियता प्रदान गर्दछ ।
तसर्थ विद्यालयलाई राजनीतिक थलो बनाउने कार्य नगरौ । विद्यार्थी राजनीतिका नाममा शिक्षाको अवस्था खस्काउने कार्यले गर्दा बालबालिकाहरु मारमा पर्ने गरेका छन । तसर्थ शिक्षाक्षेत्र राजनीति रहित बनाईनुपर्दछ । त्यसका लागि स्थानीयस्तरबाट नै जागरुक बन्न आवश्यक छ ।
















