गोदावरी राजधानी : आशा र आश्वासनमै बिते ५ वर्ष

अत्तरिया – कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको आज ५ वर्ष पुरा भएको छ । २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशसभा बैठकको दुईतिहाइ बहुमतबाट प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा राख्ने निर्णय गरेको थियो । २०७५ साउन १४ गते सुदूरपश्चिम प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी तोक्न र नाम प्रस्ताव गर्न नेकपा प्रमुख सचेतक तारा लामा तामाङ संयोजक रहेको ५ सदस्यीय विशेष सुझाव समिति बनाएको थियो ।

maya metro hospital

समितिमा बलदेव रेग्मी, चुनकुमारी चौधरी, प्रेमप्रकाश भट्ट, श्यामलाल राना थारू सदस्य थिए । समितिको सुझावका आधारमा प्रदेशसभाले राजधानी तोकेको थियो । राजधानी तोकिएपछि प्रदेश सरकारले जग्गाको भोगाधिकारका लागि २०७५ माघ २० गते संघीय सरकारलाई पत्राचार गरेको थियो ।

joshi vada pasal 2

जङ्गल मासेर राजधानी बनाउन लागिएको भन्दै वातावरण संरक्षणका नाममा सर्वोच्चमा रिट दायर गरिएको थियो । प्रदेश राजधानी तेघरीमा बनाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट दायर भएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो । तर, अदालतले अन्तरिम आदेश भने जारी गरेको थिएन ।

सुदूरपश्चिम प्रदेश सरकारले स्थायी राजधानी बनाउन आर्थिक वर्ष २०७७/७८ मा पनि २ करोड ७४ लाख र आर्थिक वर्ष २०७८/७९ मा २ करोड ७२ लाख बजेट विनियोजन गरेको थियो । तर राजधानी बनाउने कार्य अगाडि बढ्न सकेन । तत्कालीन त्रिलोचन्द भट्ट नेतृत्वको प्रदेश सरकारले ५ वर्षे कार्यकालमा राजधानी घोषणा गर्ने बाहेक कुनै काम गर्न सकेनन । ५ वर्षमा राजधानीका सबै संरचना बनिसक्नु पर्नेमा हालसम्म सरकारले उक्त क्षेत्रको भोगाधिकार सम्म पाउन सकेको छैन । प्रदेश राजधानी गोदावरीमा राख्ने निर्णय गरेको पहिलो प्रदेशसभाको कार्यकाल सकिएर हाल दोस्रो प्रदेशसभा सदस्य निर्वाचित भएर आइसकेका छन ।

देश सघियतामा गएपछि दोस्रो संघीय र प्रदेशसभा निर्वाचनमा पनि जोडतोडका साथ उठाइएको राजधानीको मुद्दा पनि हाल सेलाउन थालेको छ । निर्वाचनताका राजधानी तोकिएको क्षेत्रका राजनीतिक दलहरूले राजधानी बनाउने विषयलाई मुख्य चुनावी नारा नै बनाएका थिए । तर, निर्वाचन सम्पन्न भएको ८ महिना बितिसक्दा पनि राजधानी बनाउने विषयमा कुनै प्रगति भएको देखिएको छैन ।

राजधानी तोकिएको क्षेत्र कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचन जितेका वीर बहादुर बलायरले चुनावी प्रचारका क्रममा आफू निर्वाचित भएर गठबन्धनको सरकार बनेमा ६ महिना भित्रै गोदावरीमा राजधानी बन्ने प्रक्रिया अगाडि बढ्ने बताएका थिए । त्यसअघि सुदूरपश्चिमको राजधानी हावामा छ भन्ने अभिव्यक्तिका कारण निकै चर्चामा रहेका उनले कैलालीबाट निर्वाचन लड्नु पूर्व आफ्नो अभिव्यक्तिको बचाउ गर्दै निर्वाचित भएपछि हावामा भएको राजधानी जमिनमा बनाउने बताएका थिए ।

‘मैले डोटीमा छँदा प्रदेश को राजधानी धनगढी डेरामा छ र गोदावरी हावामा छ भनेको कुरालाई यहाँ पहाड बनाइदैँछ’ चुनावी प्रचारका क्रममा अत्तरियामा आयोजित कार्यक्रममा बलायरले भनेका थिए ‘मैले सही भनेको त छु नी, अहिले प्रदेशको राजधानी धनगढी डेरामा छैन र गोदावरीमा बनाइने भनेको राजधानी खै कता छ, कसैले देख्नुभाछ, हावामै छ नी । अब यो निर्वाचनमा जितेर गठबन्धनको सरकारले प्रदेशको स्थायी राजधानी निर्माण कार्य सुरु गर्छ । अब यो चुनाव पछि गठबन्धन सफल हुन्छ, यही गठबन्धनको नेतृत्वमा सरकार बन्छ र त्यो सरकारले ६ महिनाभित्र सम्भावित ठाउँमा राजधानी निर्माण गर्छ ।’

२०७९ को निर्वाचनमा राजधानी बनाउने एजेण्डालाई जोडतोडका साथ उठाइए पनि बोलेका कुरा कार्यान्वयन गर्न भने कुनै काम गरेको देखिदैन । २०७९ माघ २६ गते सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले पदभार सम्हालेको ७ महिना बितिसक्दा पनि राजधानी निर्माण गर्ने कुनै काम भएको छैन । उल्टै उनले गोदावरीमा राजधानी बनाउनेभन्दा पनि सार्ने बहस छेडेपछि राजधानी बन्ने विषय झन अन्योलमा परेको छ । केही दिन अघि मुख्यमन्त्री कमलबहादुर शाहले डडेल्धुरा पुगेर राजधानीको विकल्प खोज्न सकिने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए ‘यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौ ।’

दुई तिहाइले घोषणा गरेको विषय ५ बर्ष सम्म अन्योलमा पर्दा जनतामा भने निराशा देखिएको छ । अत्तरियाका युवा व्यवसायी प्रमोद अधिकारीले नेताहरूको व्यक्तिगत स्वार्थका कारण राजधानी बन्नमा ढिलाई भएको बताए । नेताहरूले कुन ठाउँमा राजधानी बनाउँदा आफूलाई भोलिका दिनमा चुनाव जित्न सहज हुन्छ भनेर राजधानीलाई चुनावी हतियार बनाउँदा अन्योलता सृजना भएको उनले बताए । उनले गोदावरीमा राजधानी बन्ने सम्भावना कम हुँदै गएपनि यस क्षेत्रमा राजधानी बन्दा नै सबै क्षेत्रका जनतालाई सहज हुने बताए ।

राजधानी तोक्न र नाम प्रस्ताव गर्न गठित समितिकी सदस्य चुनकुमारी चौधरीले राजधानी निर्माणका लागि गरिनुपर्ने एक्सरसाइज नै नपुगेको बताइन् । ‘राजधानी बनाउनका लागि मुख्यमन्त्री ज्यु को पहल नै पुगेन’ उनले भनिन् ‘संघीय मन्त्रालयमा कागजात थन्किएको छ भनिन्छ । तर, ति फाइल अगाडि बढाउन पहल गरेको देखिदैन । मुख्यमन्त्री ज्यु ले चाहने हो भने ति फाइल अगाडि बढाउन सकिन्छ ।’ उनले इच्छाशक्ति र एक्सरसाइज कम भएर राजधानी निर्माणको काम अगाडि बढ्न नसकेको बताइन् ।

प्रदेशसभा सदस्य तुलसी देवकोटाले गोदावरीमा राजधानी बन्नुपर्छ भनेर आफूले निरन्तर आवाज उठाइरहेको बताइन् । उनले राजधानी तोकिएकै ठाउँमा बन्नुपर्नेमा आफू प्रतिवद्ध रहेको बताइन् । ‘यस क्षेत्रमा निर्वाचन लड्दा पनि सुदूरपश्चिमको राजधानी घोषणा भएकै ठाउँमा बन्नुपर्छ भनेर बोलेका हौ’ उनले भनिन् ‘अहिले पनि हामी सदनमा यो विषय उठाएका छौ । अझै पनि यो आवाज निरन्तर उठाइरहने छौ ।’ उनले नेताहरूले अझै पनि राजधानीका बारेमा स्पष्ट बोल्न नसक्दा केही ढिलाई हुन गएको बताइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.