अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा रहको लक्ष्मी कत्था उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण हुन सकेको छैन । उद्योगबाट भइरहेको वायु प्रदुषण नियन्त्रण गर्न स्थानीयले पटकपटक आग्रह गर्दा पनि उद्योगको बेवास्ताका कारण प्रदुषण नियन्त्रण हुन नसकेको हो ।

स्थानीय अमर बिष्टले केही वर्ष यता उद्योगबाट वायु प्रदुषण अत्याधिक भइरहेकाले उद्योग वरिपरिको बस्ती जोखिममा परेको बताए । उनले उद्योगबाट प्रदुषण बढ्नुको कारण पहिचान गरी नियन्त्रण गर्न पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताए ।

हाल उद्योगको चिम्नीबाट निस्कने धूवाँको मुस्लो बस्तीमा फैलिने गरेको उनले बताए । उनले धूवाँमा धुलोको कण पनि मिसिएर आउने गरेको बताए ।
वडा अध्यक्ष शुद्धिराम चौधरीले पनि सुधारका लागि पटकपटक ताकेता गरिएपनि काम नभएको बताए । ‘वहाहरुले सुधारका लागि चिम्नी पनि परिवर्तन गर्नुभएको हो । चिम्नी फेरेपछि पनि प्रदुषित धुँवा बस्तीमा फैलिने क्रम रोकिएको छैन’ उनले भने ‘उद्योगहरूले धुँवा फाल्ने भएपनि त्यो धुँवा कति हानिकारक छ भनेर अनुगमन गरिदिन घरेलु कार्यालयलाई पनि अनुरोध गरेका थियौ । उक्त कार्यालयले अनुगमन पनि गरेको छ । तर, त्यसको रिपोर्ट के आयो थाहा छैन ।’
घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख कोमल प्रसाद ओझाले गुनासो आएपछि उद्योगको अनुगमन गर्दा आइइ पास गरेर नै संचालन गरिएकाले कागजी रुपमा त्रुटि नभेटिएको बताए ।
उनले पुरानो चिम्नीमा जमिनसम्म नै धुँवा आउने भएकाले नयाँ चिम्नी जडान गरेको पाइएको बताए । उनले हाल चिम्नी सुधार भएकाले धूवाँको असर पहिलेको तुलनामा कम परे पनि हावाको वेग आएको समयमा जमिनमा धुँवा आएको हुन सक्ने बताए । उनले उद्योगले चिम्नीको बीचमा धुँवा प्रशोधन गर्ने प्रविधि पनि प्रयोग गरिएको पाइएको बताए ।
उनले उद्योगले फाल्ने धूवाँको गुणस्तरका विषयमा भने अध्ययन गर्न बाँकी रहेको बताए । ‘वहाहरुले आइइका कन्डिसन पालना गर्ने गरी नै सञ्चालन गर्नुपर्ने हुन्छ’ उनले भने ‘त्यो अनुसार नभएको भए हामीले सम्बन्धित निकाय संग समन्वय गरेर थप अध्ययन गर्छौ ।’
कत्था उद्योगका म्यानेजर रोशन कर्णले उद्योगबाट निस्कने प्रदुषण कम गर्न प्रयास जारी रहेको बताए । ‘अहिले सुधार हुँदैछ । अलि फ्युलको समस्याले पनि धुवा बढी आइरहेको थियो’ उनले भने ‘हामीले चिम्नी फेरेका छौ । दाउरा जलाउने भएकाले त्यो समस्या देखिएको हो । पहिलेको जस्तो समस्या छैन अहिले ।’
उनले इन्धनका लागि भारतबाट गोट्टी ल्याएर प्रयोग गरिने भएकाले त्यसको गुणस्तर पनि कम भएको आएकाले समस्या देखिएको बताए । उनले उद्योगबाट निस्कने प्रदुषण कम गर्न आफूहरू लागिपरेको बताए ।
स्थानीयले उद्योगबाट निस्कने फोहोर पानीको कारण पनि बस्तीमा जोखिम बढेको बताएका छन । उक्त उद्योग आइइ मापदण्ड पुरा गरेर सञ्चालन गरिएको भएपनि पहिलेको भन्दा प्राविधिक रुपमा धेरै कुरामा परिवर्तन आएकाले त्यसको पुनरावलोकन हुनपर्ने माग गरेका छन । उद्योग धेरै पुरानो भएपनि पछिल्लो केही वर्ष यता मात्रै प्रदुषण बढ्नुको कारण खोजी गरिनुपर्ने उनीहरूको भनाइ छ ।