धनगढी – कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । कैलालीको जोशीपुर गाउँपालिका – ४ लालपुर वाणीकी बस्ने २५ वर्षीया राधा परियारको सोमबार मृत्यु भएको हो ।
अवधी नपुग्दै व्यथाले च्यापेपछि शुक्रबार सेती अस्पतालमा भर्ना भएकी राधाको सोमबार बिहान ८ बजे मृत्यु भएको थियो । प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताए । उपाध्यायका अनुसार शल्यक्रिया गरेर परियारको गर्भमा रहेको मृत शिशु निकालिएको थियो ।

सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि परियारलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पतालले प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् परियारको मृत्यु भएको बताएको छ । परियार मुर्छा परेको र आइसियुमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको अस्पतालले प्रारम्भिक जानकारी दिएको छ । मृतकका आफन्तले प्रसुती वार्डका नर्सिङ स्टाफ र डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै कारवाहीको माग गरेका छन् ।
मृतक राधाकी जेठानी कल्पना परियारले अस्पतालको लापरबाहीले राधाको मृत्युु हुन पुगेको बताएकी छिन् । उनले बहिनीलाई लिएर शुक्रबार अस्पताल आएको र आइतबारसम्म उनको शल्यक्रिया नगरिएको बताए ।
बच्चाको टाउको ठूलो थियो भन्ने थाहा हुँदाहुँदै पनि समयमा शल्यक्रिया नगर्दा आमा र बच्चाको ज्यान गएको कल्पनाले बताइन् । बिरामीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गरिएको भन्दै यसको जिम्मेवारी अस्पतालले लिनुपर्ने शव नउठाउने चेतावनी दिइन् । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको बताइएको छ ।


















