खाेज्नुहाेस

मालाखेती अस्पतालमा चैत देखि बन्द भएका सेवा अझै सूचारु भएनन्

Image

अत्तरिया – मालाखेती अस्पतालमा गत वर्ष चैत महिना देखि बन्द भएकाे ओटी, इन्डोर सेवा अझै संचालन हुन सकेका छैन् । कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको उक्त अस्पतालको ओपीडीमा बिरामीको चाप थेगिनसक्नु भएपनि ओटी, इन्डोर सेवा भने संचालनमा आउन नसकेका हुन ।

स्वास्थ्य चौकी जस्तै सेवा दिइरहेको अस्पतालको अध्यक्षमा डा. नर बहादुर मौनी नियुक्त भएपछि सेवा विस्तार भएर २४ घण्टा अस्पताल संचालन आए पनि सुत्केरी महिलाको मृत्यु प्रकरण पछि पुनः सेवा खुम्चिएका छन ।

attariya hospital

गोदावरी नगरपालिका मातहत रहेको मालाखेती अस्पतालको अध्यक्षमा गत बर्ष मंसिर १४ गते डा. नर बहादुर मौनी अध्यक्षमा नियुक्त भएका थिए । उनी अध्यक्ष नियुक्त भएपछि पुस १ गते देखि इन्डोर सेवा सुरु भएको थियो भने चैत १५ गते देखि अपरेशन सेवा पनि सुचारु भएको थियो । सोही दिन अस्पतालमा एक सुत्केरी महिलाको सफल अप्रेशन पनि गरिएको थियो । सेवा विस्तार भएर अस्पताल चौविसै घण्टा पुर्ण रुपमा संचालनमा आएको भएपनि चैत २७ गते सुत्केरी महिलाको मृत्यु भएपछि हालसम्म पनि अस्पतालमा अपरेशन सेवा सूचारु हुन सकेको छैन । अपरेशन सेवा बन्द भएपछि हाल इन्डोर सेवा पनि बन्द जस्तै रहेको छ ।

navjiwan hospital

अस्पतालका अध्यक्ष डा. नर बहादुर मौनीले सुत्केरीको मृत्यु पछि अस्पतालमा चिकित्सकहरुले असुरक्षित महशुस गरिरहेको बताए । उनले अस्पतालमा रोकिएका सेवा सूचारु गर्नको लागि अस्पतालको प्रयासले मात्रै सफल नहुने बताए । ‘चिकित्सकहरुको मनोवल बढाउनको लागि नगरपालिकाबाट वातावरण बनाउन आवश्यक छ’ उनले भने ‘अस्पतालमा बिरामीको चाप बढेको छ । जनशक्ति पनि छ । यसलाई पुरानै अवस्थामा फर्काउन नगरले स्थानीयसंग समन्वय गरेर काम गर्ने वातावरण बनाउनु पर्छ ।’

मालाखेती अस्पतालमा हाल एमडीजीपी डाक्टर अन्वेष कोईराला सहित ३ जना एमबिबिएस डाक्टरले सेवा दिइरहेका छन । डा. कोइरालाले पछिल्लो समय अस्पतालमा दैनिक साढे ३ सय बिरामीले सेवा लिइरहेको बताए । उनले इन्डोर सेवा संचालनका लागि २४ घण्टा ल्याव संचालन गर्न जनशक्तीको पनि अभाव भएको बताए । ‘ल्याव १० देखि ५ बजे सम्म मात्रै चलेको छ’ उनले भने ‘अस्पतालको इन्डोर सेवा २४ घण्टा संचालन गर्नको लागि ल्याव, फार्मेसीमा १/१ जनाको आवश्यकता छ ।’

हाल अस्पतालमा ५२ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेका छन । नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले नगरपालिकाबाट ल्यावमा एक जना कर्मचारी नियुक्ति गर्नको लागि प्रक्रिया अगाडी बढेको बताए । मालाखेती अस्पतालमा हाल २२ जना दरबन्दी, ६ जना करारका स्वास्थ्यकर्मी कार्यरत रहेका छन भने बाकी नगरपालिका मातहत करारमा कार्यरत रहेका छन् ।

अस्पतालको व्यवस्थापनमा सुधार संगै एमडीजीपी डाक्टर आएर सेवा सुविधा थपिदा पछिल्लो समय अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या बढ्दै गएपनि थपिएका सेवा पनि बन्द हुँदा भने स्थानीय निरास भएका छन । रोकिएका सेवा सुचारु गरि थप सेवा अस्पतालमा संचालन गर्न स्थानीयको माग छ ।

हाल अस्पतालमा इमर्जेन्सी सेवा संचालनमा रहेपनि २४ घण्टा ल्याव र फार्मेसी सेवा नहुँदा दिनमा मात्रै संचालन हुने गरेको छ । जसले गर्दा अफिस समयमा मात्रै अस्पतालको सेवा संचालन हुँदा विरामीहरु महंगोमा निजी अस्पतालमा सेवा लिन बाध्य छन ।