खाेज्नुहाेस

कैलालीमा थारू आलु प्रवद्धर्न गरिने

Image
तस्वीर : तिलकराज ओझा, रासस

अत्तरिया – पछिल्लो सयम स्वास्थ्य वर्धक‚ स्वादिलो‚ भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवा लगायतका रोग सहन सक्ने थारू आलुको लोकप्रियता बढ्दै गएको छ । उन्नत जातका तुलनामा यो आलुले उत्पादन कम दिने भएपनि अन्य हिसाबले बढी लाभकारी भएकाले यसको लोकप्रियता बढ्न थालेको हो । लोकप्रियता बढ्दै गएको यस आलुको प्रवद्धर्न गर्न सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पनि कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले कृषि ज्ञान केन्द्र कैलाली माफर्त थारू आलुको प्रवद्धर्न कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उक्त कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा ६० हेक्टर क्षेत्रमा आलु प्रवद्धर्न कार्यक्रम सञ्चालन गरिने भएको छ । कार्यक्रम अन्तरगत ६० हेक्टर क्षेत्रमा थारू आलु खेती बिस्तारका लागि कृषि सामग्री सहयोगको कार्यक्रम रहेको कार्यालय प्रमुख खगेन्द्र प्रसाद शर्माले बताएका छन । उनका अनुसार चालु आवमा १ हेक्टरमा थारू आलु खेती गर्ने किसानलाई लागतको ५० प्रतिशत कृषि सामाग्री सहयोग गरिने छ । चाँडै फल्ने र राम्रो फसल दिने उन्नत र हाइब्रिड जातका आलुको तुलनामा कम उत्पादन दिएपनि स्वादिलो र बजारमा मूल्य पनि बढी पाइन थालेपछि पछिल्लो समय थारू आलु प्रति किसान पनि आकषिर्त भएका छन ।

attariya hospital
navjiwan hospital

यो आलु लामो समय सम्म भण्डारण पनि गर्न सकिन्छ । जसले गर्दा सिजन भन्दा पछि पनि किसानहरूले बिक्री गर्न पाउने भएकाले राम्रो मूल्य पाउने गरेका छन । सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा यो आलु थारू समुदायमा वर्षौ पहिले देखि लगाइँदै आएको थियो । कैलालीमा यसको कति क्षेत्रफलमा खेती गरिन्छ भन्ने बारेमा कृषि ज्ञान केन्द्र कैलाली सँग यकिन तथ्याङ्क नभएपनि यो आलु थारू बस्ती भएका कैलालीका सबै क्षेत्रमा गरिदै आएको छ ।

कैलालीमा ६ हजार हेक्टर क्षेत्रफलमा आलु खेती गरिदै आएकोमा त्यसको २५ प्रतिशत क्षेत्रफलमा थारू आलु खेती गरिदै आएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले बताए । उनले थारू आलुको उत्पादकत्व उन्नत आलु सरह प्रति हेक्टर १५ टन नै रहेको बताए । उनले थारू आलुको खेतीका लागि हाल स्थानीय स्तरमा बीउ उपलब्ध भएको बताए ।

उनले यो आलु खानमा स्वादिलो र भण्डारण गर्न सहज भएकाले नै हाल किसान यसमा आकषिर्त भएको बताए । ‘यो आलुलाई चौधरी समुदायमा किसानले घरमै परम्परागत प्रविधि प्रयोग गरेर लामो समय सम्म भण्डारण गरेर राखेका हुन्छन । यसको लागि कोल्ड स्टोर चाहिदैन’ उनले भने ‘यसको लोकप्रियता बढ्दै गएपछि हाल सबैले यसको प्रयोग गर्न थालेका छन ।’ उनले यो आलुमा रोगकीरा लागेपनि उचित विधि अपनाएर खेती गर्न सके उन्नत आलुको तुलनामा रोग किराको कम लाग्ने बताए । उनले यो आलुले उन्नत आलुको तुलनामा सुख्खा बढी सहने बताए ।

उनले यो आलुले उन्नत आलुको तुलनामा दोब्बर तेब्बर तुल्य पाउने गरेको बताए । ‘भारतबाट आयातीत आलुको बिउ २०/३० रुपैयाँमा पाइन्छ । तर‚ यसको मूल्य ६० रुपैयाँ भन्दा तल हुँदैन’ उनले भने ‘खानको लागि प्रयोग गरिने थारू आलु पनि ४० रुपैयाँ भन्दा तल मूल्य जाँदैन ।’