डडेलधुरा – डडेलधुराका करिब २३ हजारभन्दा बढी घरधुरीमा विद्युत्को पहुँच पुगेको छ। सोही आधारमा ८५ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेलधुराले जनाएको छ ।
शतप्रतिशत घरधुरीमा विद्युतीकरणका लागि ४५ करोड रुपियाँ बराबरको टेन्डर हुन लागेको प्राधिकरण प्रमुख रमेश अवस्थीले जानकारी दिए। चालु आर्थिक वर्षमा काम गर्न केन्द्रीय कार्यालयमार्फत टेन्डर हुन लागेको छ । जिन्सी र ज्याला गरेर सो रकम बराबरको टेन्डर हुन लागेको हो । करिब ६० लाख रुपियाँको आठ वटा टेन्डर पूरा हुने चरणमा रहेको उनले बताए । ज्यालामा मात्रै रकम रहेको सो रकम बराबरको टेन्डर सम्पन्न हुने चरणमा छ ।

परशुराम नगरपालिका २ र नवदुर्गा गाउँपालिका १, २ र ४ वडाको गाउँ बस्तीमा विद्युतीकरण हुन बाँकी छ। उक्त पालिकाको गाउँबस्तीमा चालु आर्थिक वर्षको सुरुवातमा मात्रै विद्युतीकरण भएको छ । बाँकी सबै गाउँबस्तीमा विद्युतीकरणका लागि नयाँ ठेक्का आह्वान गरिएको छ ।

















