खाेज्नुहाेस

जङ्गली जनावरबाट हैरानी खेप्दै डडेल्धुराका किसान

Image

डडेल्धुरा – नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ । बुधबार जङ्गली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पु¥याएको बताए । बर्सेनी जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन् ।

जङ्गली जनावरले मकै, भटमास र धानबारीमा र मार्सीमा व्यापक क्षति पु¥याएको छ । वडा कार्यालयका अनुसार करिब रु ५० लाख बराबर क्षति भएको छ । स्थानीय दानबहादुर साउदले हराभरा भएको खेतीपाती सखाप भएको देख्दा दुःख लागेको बताए । ‘जंगली जनावर मारे कारबाही हुन्छ, नमारे हुलका हुल बारीमा आउँछन’, उनले भने, ‘सखाप पारेर जान्छन्, के गर्ने हाम्रा लागि पहल गरिदिनु प-यो ।’

attariya hospital
navjiwan hospital

उनले आफ्नो दुःखेसो पालिका प्रमुखलाई पनि सुनाएको र पालिका प्रमुख लक्ष्मी अवस्थीले बैठक बसेर केही व्यवस्थापन गर्ने आश्वासन दिएको सुनाए । वडा नं २ कै दुर्गादेवी साउँदलाई १४ जनाको परिवार यसै खेतीको आशामा बाँचेकाले यसपालि के खाने भन्ने चिन्ता छ । पोहोर साल गाउँमै रहेका केहीलाई बँदेलले घाइते बनाएकाले पहरा दिन पनि डर छ । ‘खेतीपाती लगाएर उल्टो दुःख मात्रै पाइन्छ’, उनको दुःखेसो छ ।

साउँदका अनुसार प्रायः रातमा आएर खाने जङ्गली जनावर धपाउन महिलालाई ठूलो चुनौती छ। रातभर जाग्राम बस्दा पनि खेती बचाउन मुस्किल हुन्छ । स्थानीय गणेशबहादुर साउँदका अनुसार ५० देखि ६० रोपनी जमिनमा लगाएको सबै खेतीपाती पूर्णरूपमा सखाप भएको छ ।

तत्कालका लागि राहत र दीर्घकालीनरूपमा खेतबारीको संरक्षणका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्ने स्थानीयवासीको माग छ । किसानको क्षतिबारे पालिका, कृषि ज्ञान केन्द्र र डिभिजनल वन कार्यालयलाई मौखिक जानकारी गराएकोमा लिखितरूपमा दिने काम भइरहेको जनाइएको छ ।

जङ्गली जनावरका कारण अजयमेरु–१ समैजी, अमरगढी, गन्यापधुरा, भागेशवरका किसानले हैरानी खेप्नुपरेको छ। सरकारले स्थायी समाधानका लागि घेरबार तथा दिगो समाधान गरिदिनुपर्ने स्थानीयवासीको माग छ ।