अत्तरिया – कैलालीको गोदावरीमा फाजिलका कर्मचारीका लागि छुटै हाजिरीको व्यवस्था गरिएको छ । नगरपालिकामा हाल कार्यरत रहेका ४१ जना स्वास्थ्य क्षेत्रमा कार्यरत फाजिलका कर्मचारीका लागि छुटै हाजिरीको व्यवस्था गरिएको हो ।
उनीहरुलाई पहिलेको जस्तै नियमित काम गर्ने गरी हाललाई छुटै हाजिरीको व्यवस्था गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले बताए । ‘फाजिलका कर्मचारीको इ–हाजिरी रोकिएको छ’ उनले भने ‘अहिले उनीहरुले ठाडो हाजिरी गर्दै छन ।’ लोकसेवाबाट पास भएर सरकारी सेवामा कार्यरत रहेका कर्मचारी तत्कालिन समयमा दोहोरो समहतिमा नगरमा कामकाज सुरु गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले गोदावरी नगरपालिकामा विभिन्न मितिमा समायोजन/समायोजन मिलान/कामकाज गर्ने भनी आएका कर्मचारीहरुलाई नेपाल सरकारले आगामी आर्थीक बर्ष २०८०/८१ देखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता दिन नसकिने र आफैले आवश्यकता हेरी व्यवस्था गर्न पत्र पठाएको थियो । नगरपालिकाले फाजिलका कर्मचारीलाई आफ्नो व्यवस्था आफै गर्न नगरको कार्यपालिका बैठकबाट निर्णय भएर नगरसभाबाट समेत अनुमोदन भएको जवाफ पठाएको थियो ।
नगरपालिकाले २०८० अषाढ ६ गतेको कार्यपालिका बैठकवाट फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई श्रावण १ गते देखि तबल, भत्ता खुवाउन नसकिने भएकाले मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको थियो । कार्यपालिकाको उक्त निर्णय २०८० अषाढ ११ गते बसेको १० औँ नगरसभाबाट समेत अनुमोदन गरिएको थियो ।

नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले नगरपालिकाले यसअघि नै नगरको आन्तरिक आयश्रोत घटेकाले तलब भत्ता दिन नसकिने पत्र मन्त्रालयमा पठाएको बताए । उनले भरखरै असार मसान्त सकिएकाले मन्त्रालयबाट यसको केही निकास निस्कने बताए ।
उनले यसअघि सबै कर्मचारीको ई–हाजिरी लाग्ने गरेकोमा अहिले फाजिलका कर्मचारीको हार्ड कपिमा हाजिर भइरहेको बताए । गोदावरीमा हाल नगरपालिकाका प्रशासन साखा, मालाखेती अस्पताल, बिभिन्न स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्रमा फाजिलका कर्मचारी कार्यरत रहेका छन ।
यता फाजिलका कर्मचारी ठाडो हाजिर गरेर कामकाजमा खटिएका भएपनि धनगढी उपमहानगरपालिकामा कार्यरत कर्मचारी भने धर्नामा उत्रिएका छन । समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई उपमहानगरपालिकाले हाजिर गर्न नदिएपछि उनीहरु आन्दोलित भएका हुन् । समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरुलाई २०८० श्रावण १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएको उनीहरूको भनाई छ ।
उनीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन् । नयाँ आर्थिक वर्ष शुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो ।
कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७/२०७८ सालको बिभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भइ हालसम्म नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरु र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रमअनुसार काम गरिरहेका कर्मचारीलाई हाल फाजिलका भनिएपछि उनीहरु अन्योलमा परेका छन ।















