महाकालीको पानी सुनबरा नदीमा

महेन्द्रनगर – राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूलनहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीमा छाडिएको छ । डेढ दशकको अवधिमा यहाँ तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० फुलेलीसम्म २८ किलोमिटर मूलनहर तयार भएको छ ।

maya metro hospital

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनीयर शम्भू पण्डितले चार दिनयता नहरमा पानी परीक्षणका रुपमा छाडिएको बताए । ‘फुलेलीबाट महाकाली नदीको पानी सुनबरा नदीमा छाडेका छौँ’, उनले भने, ‘भारतीय पक्षसित परीक्षणका लागि सात दिन पानी दिने सहमति भएको छ ।’ उनले मूलनहरमा अहिले तीनदेखि चार क्युसेक पानी बगिरहेको बताए ।

joshi vada pasal 2

‘मूलनहरमा नियमित छाड्न पहल भए पनि शाखा नहर तयार भइनसकेकाले भारतले पानी दिन आनाकानी गर्दैआएको छ’, पण्डितले भने, ‘यहाँ अहिले २० र २१ नम्बर शाखा नहर निर्माण भएको छ । मूलनहर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको करिब तीन किलोमिटर क्षेत्रमा नहरमा दलदलको समस्या छ ।’

पानी परीक्षणका लागि छाड्दा दलदल भएको क्षेत्रको सफाइ गर्न पनि सहज भएको छ । नहर सफा गर्न अझै केही दिन पानी छाड्न भारतीय पक्षसित आग्रह गरिने उनले बताए । महाकाली सन्धिको २८ वर्षपछि ब्रह्मदेव क्षेत्रबाट महाकालीको पानी २८ किलोमिटर पूर्व शुक्लाफाँटा नगरपालिकासम्म पुर्याइएको छ ।

गत वर्ष धान दिवसका दिन २२ किलोमिटर मूलनहरसम्म महाकाली नदीको पानी पुर्याइएको थियो । आयोजनाअन्तर्गत अहिले २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालदेखि थालिएको मूलनहर निर्माणको थप काम अगाडि बढाउन प्रयास भइरहेको छ ।
कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।

विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति पाउन ढिलाइ, बजेट अभावलगायत समस्या थियो । यहाँ रु एक अर्ब बढीको लागतमा २२ शाखा नहर निर्माणको काम अघि बढेको छ । यसैगरी शुक्लाफाँटाको फुलेलीदेखि २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया पनि अघि बढाइएको पण्डितले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.