प्रदेश सभामा पेश भएन सुदूरपश्चिमको नीति तथा कार्यक्रम

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अझै प्रदेश सभामा ल्याउन सकेको छैन । यद्यपि बजेटको अन्तिम तयारीमा जुटेको प्रदेश सरकारको दाबी छ । असार १ गते प्रदेश सरकारको वार्षिक बजेट ल्याउनुपर्ने हुन्छ । तर अहिलेसम्म प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम नै पेस नभएका कारण आगामी आर्थिक वर्षको बजेट कस्तो आउँछ भन्नेमा अन्योल छ ।

maya metro hospital

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन ढिला गरेको भन्दै गहन छलफल गर्नुपर्ने विषयलाई बेवास्ता गरिएको आरोप लगाएको छ । एमाले नेता धर्मराज पाठकले सरकारको गति सुस्त रहेको बताए । सरकारले समयमा कुनै पनि कार्य गर्न नसकिरहेको उनको आरोप छ ।

joshi vada pasal 2

पाठकले भने, ‘सरकारले नीति तथा कार्यक्रम समयमै सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । असार १ गते बजेट कार्यक्रम पेस हुन्छ । नीति तथा कार्यक्रम जति ढिलो सभामा पेस भयो, त्यति नै सभामा हुने छलफलका लागि समय कम हुन्छ ।’
सरकारले पूर्णता नपाउनु, विषयगत समितिमा सभापति चयन गर्न नसक्नुलगायतले पनि सरकार कुन गतिले अघि बढेको छ भन्ने स्पष्ट पारेको उनको भनाइ छ ।

उता सत्ता पक्षका सांसदले सरकारको बचाउ गर्दै आएका छन् । नेपाली कांग्रेसका सांसद प्रकाश बमले प्रदेश सरकारको नीति तथा कार्यक्रम तयारी अवस्थामा रहेको बताए । जेठ २५ गतेभित्र प्रदेश सभामा प्रस्तुत हुने अपेक्षा लिएको बमले बताए ।

raunak fals and silling

‘मुख्यमन्त्रीको कार्यालयमा नीति तथा कार्यक्रम तयार भइरहेको छ । आज (आइतबार) हामी सदनमा बस्छौँ, अनि छलफल गरेर सोही अनुरुप २५ गतेभित्रमा सभामा पेस हुनेछ’, उनले भने । त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले समय अभाव तथा ब्यस्तताले नीति तथा कार्यक्रम प्रस्तुतमा ढिलाइ भएको बताए । तर नीति तथा कार्यक्रमको तयारी पूरा भएको र बजेट निर्माणको तयारी पनि सँगसँगै चलिरहेको उनको भनाइ छ ।

विगतका वर्षभन्दा यो वर्ष बजेटका आकारमा संकुचन हुने देखिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ३० अर्ब ३३ करोड ९५ लाखको बजेट ल्याएको थियो । विगतको तुलनामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको आकार घटेर आउने आँकलन गरिएको छ । मुलुकमा विद्यमान मौद्रिक तरलता अभावका कारण बजेटको आकार घटाउनुपर्ने बाध्यता देखिएको हो । लक्ष्य अनुसारको राजस्व संकलनमा समेत भारी गिरावट आएको छ ।

सरकारको ध्यान आध्यात्मिक सम्मेलनमा

यसैबीच प्रदेश सरकारको ध्यान प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा केन्द्रित भएको देखिन्छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना तथा प्रदेश सरकारकै सहयोगमा जेठ २३ देखि २५ गतेसम्म पर्यटकीय स्थल खप्तडमा आयोजना हुन लागेको सो सम्मेलनको तयारीका लागि सांसदहरु व्यस्त हुँदा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने काम प्रभावित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सम्मेलन उद्घाटनको तयारी गरिएको छ । जहाँ योगगुरु बाबा रामदेव, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, संघीय सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायतको सहभागिता हुने बताइएको छ ।
तीन दिनसम्म चल्ने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन गरिएको छ । रातोपाटी

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.