दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–२ स्थित कैनोडा टावर र लेकम गाउँपालिका–६ स्थित उचाकोट टावरबाट फोरजी सेवा सुचारु भएको छ । ती टावरसम्म राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए ।

सञ्चालनमा रहेका ३० वटा टावरमध्ये २५ वटामा फोरजी सेवा विस्तार भइरहेको उनले बताए । स्काई फेजआउट गरेर छाङरुबाहेक सबै टावरमा जीएसएम सेवा विस्तार गरिएको छ ।

छाङरुमा मात्रै स्काइ रहेको र त्यो पनि चालु आर्थिक वर्षभित्रै विस्थापित हुने भएको छ । धेरै ठाउँमा नयाँ टावर निर्माणका लागि सर्भे भइसकेको नेपाल टेलिकमले जनाएको छ ।
हालसम्म एडीएसएल इन्टरनेट सेवा मात्रै भएकोले जिल्ला सदरमुकाम खलङ्गामै इन्टरनेटको गति कमजोर रहेको सेवाग्राहीको गुनासो छ । अप्टिकल फाइबर इन्टरनेट जिल्ला सदरमुकाम खलङ्गामा जडान गर्ने काम भइरहेको र चालु आर्थिक वर्षभित्रै सदरमुकाम क्षेत्रका ग्राहकको इन्टरनेट समस्या समाधान हुने टेलिकमले जनाएको छ ।















