काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्याकेज सञ्चालनमा ल्याएको छ । यस नयाँ व्यवस्थाअनुसार ग्राहकले अब हरेक महिना आफैँ प्याकेज सक्रिय (सब्स्क्राइब) गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । टेलिकमका अनुसार एकपटक प्याकेज सुरु गरेपछि ग्राहकको मोबाइलमा उपलब्ध ब्यालेन्सका आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ ।

टेलिकमले यस योजनाअन्तर्गत ३० दिनको समयावधि रहने गरी तीन प्रकारका आकर्षक प्याकेजहरू सार्वजनिक गरेको छ । जसमा २९९ रुपैयाँको ‘नमस्ते रिकरिङ २९९’ प्याक अन्तर्गत ३०० मिनेट अल–नेट भ्वाइस, ४ जिबी डाटा, २ जिबी नाइट डाटा र २० वटा अन–नेट एसएमएस उपलब्ध हुनेछ । त्यसैगरी, ४९९ रुपैयाँको प्याकेजमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जिबी डाटा, ४ जिबी नाइट डाटा र १०० वटा अल–नेट एसएमएस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सबैभन्दा ठूलो प्याकेजका रूपमा रहेको ७९९ रुपैयाँको ‘नमस्ते रिकरिङ ७९९’ मा ग्राहकले सबै नेटवर्कमा असीमित (अनलिमिटेड) कुराकानी गर्न पाउनेछन् । यसका साथै दैनिक १० जिबीका दरले महिनाभर कूल ३०० जिबी डाटा र ३०० वटा अल–नेट एसएमएस समेत उपलब्ध हुनेछ । यी प्याकेजहरू प्रयोग गरिरहेका ग्राहकलाई थप डाटा आवश्यक परेमा कम्पनीले सस्तो दरका ‘एड–अन’ प्याकेजहरूको पनि व्यवस्था गरेको छ ।
जसमा ३० रुपैयाँमा १ जिबी, ५० रुपैयाँमा २ जिबी र ९९ रुपैयाँमा ४ जिबी डाटा पाइनेछ । टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी प्राप्त निर्देशन पालना गरेर यी सेवाहरू खरिद गर्न सक्नेछन् । यो नयाँ सुबिधाले ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा निरन्तर प्राप्त गर्न सहज हुने विश्वास कम्पनीले लिएको छ ।


















