धनगढी – सुदूरपश्चिम प्रदेशमा चालु धान रोपाइँ सिजनअन्तर्गत हालसम्म ३९ दशमलव १६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय, दिपायल डोटीले सार्वजनिक गरेको असार १५ गतेसम्मको तथ्यांकअनुसार प्रदेशका नौ जिल्लामा लक्ष्य गरिएको एक लाख ५८ हजार ४५० हेक्टर क्षेत्रफलमध्ये ६१ हजार ९६७ हेक्टरमा धान रोपाइँ सकिएको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी रोपाइँ बझाङ जिल्लामा भएको छ । बझाङमा ६ हजार ३०० हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये २ हजार ६४६ हेक्टरमा रोपाइँ सम्पन्न भई ४२ प्रतिशत प्रगति हासिल भएको छ । दोस्रो स्थानमा कञ्चनपुर रहेको छ, जहाँ ४५ हजार ७९६ हेक्टरमध्ये २० हजार ६२३ हेक्टरमा रोपाइँ भई ४५ प्रतिशत प्रगति भएको छ । बाजुरामा ४६.११ प्रतिशत, बैतडीमा ४० प्रतिशत तथा कैलालीमा ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।


यस्तै अछाममा ३४.९९ प्रतिशत, डडेलधुरामा २७.५१ प्रतिशत र डोटीमा सबैभन्दा कम १५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । डोटीमा ६ हजार २२४ हेक्टर रोपाइँयोग्य क्षेत्रमध्ये हालसम्म ९३४ हेक्टरमा मात्रै धान रोपिएको छ ।
कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष मनसुन ढिलो सक्रिय हुँदा तथा पर्याप्त वर्षा हुन नसक्दा केही जिल्लामा रोपाइँको गति अपेक्षाकृत सुस्त देखिएको छ । तर पछिल्ला दिनमा वर्षा सुरु भएसँगै अधिकांश जिल्लामा रोपाइँले गति लिएको र आगामी केही दिनभित्र रोपाइँको प्रतिशत उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।















