खाेज्नुहाेस

काममा चरम ढिलासुस्ती गर्ने ठेकेदारका निर्माण सामग्री स्थानीयद्धारा नियन्त्रणमा

Image

सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलौरीमा सडक निर्माणमा चरण ढिलासुस्ती गर्ने ठेकेदारका निर्माण सामग्री स्थानीयले नियन्त्रणमा लिएका छन् । बेलौरी नगरपालिका २ टेडुवाका स्थानीयहरूले आइतबार छत्री चौराहा देखि श्रीलंका पुलसम्मको सडक निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीको सामग्री नियन्त्रणमा लिएका हुन । उक्त सडक निर्माणको ठेक्का मालिका निर्माण सेवालाई दिइएको थियो । स्थानीयहरूले सडक निर्माण गरिरहेको मालिका निर्माण सेवाको रोलर र पानी ट्याङ्की नियन्त्रणमा लिएर प्रहरी चौकी टेडुवामा राखेका छन् ।

स्थानीय ठेकेदार काम नगरी भाग्न खोजेको थाहा पाए पनि निर्माण सामग्री नियन्त्रणमा लिइएको बताएका छन् । स्थानीय दीपेन्द्र प्रसाद खुनाले काममा ढिलासुस्ती सँगै गुणस्तरहीन काम हुन थालेपछि ठेकेदारलाई सजक गराउन निर्माण सामग्री नियन्त्रणमा लिएको बताए । ‘हामीले गुणस्तरहीन काम भइरहेको भन्दै आवाज उठाएपछि ठेकेदार काम छोडेर भाग्न खोजेका थिए’ उनले भने ‘यस्तो अवस्थामा ठेकेदारलाई कसरी रोक्न सकिन्छ भनेर सल्लाह गरेर नै हामीले निर्माण सामग्री नियन्त्रणमा लिएका हौ ।’ उनले अझै पनि ठेकेदारले काम नगरे न्यायिक प्रक्रियामा जाने बताए ।

attariya hospital

३ वर्ष अघि सकिसक्नुपर्ने काम निर्माण कम्पनीले ढिलाइ गर्दा समान नियन्त्रणमा लिई सुरक्षित प्रहरी चौकीमा बुझाएको बेलौरी नगरपालिका २ का वडा सदस्य विक्रम चौधरीले बताए । चौधरीका अनुसार निर्माण कम्पनीले बाटो आधा बनाइ समान लिएर जाँदै गर्दा समान नियन्त्रणमा लिइएको हो ।

navjiwan hospital

‘२०८० मै निर्माण सम्पन्न गर्नुपर्ने सडक आज सम्म पनि पुरा भएको छैन’ उनले भने ‘सडकको पटक पटक म्याद थप हुँदै गर्दा हामी लास्ट अवस्थामा आएपछि ठेकेदारका सामान रोलर, पानीट्याङ्कि हामीले नियन्त्रणमा लिएर चौकीमा राखेका छौ ।’ उनले ठेकेदार, सम्बन्धित कार्यालयका कर्मचारी जनप्रतिनिधिलाई छलफलका लागि गाउँमा ल्याउन सामाग्री नियन्त्रणमा लिइएको बताए ।

सुदूरपश्चिम प्रदेश भौतिक राज्य मन्त्री समेत रही सकेका स्थानीय कुलवीर चौधरीले आफ्नो कार्यालयमा ल्याएको सडक वर्षौँसम्म पनि नबन्दा दुखित छन् । ठेकेदारले पूर्वाधार कार्यालयबाट पटक पटक म्याद थपेर असारमा काम गर्ने तर अपुरै छाड्ने भएकोले काम समयमै नसकिएको चौधरीको भनाइ छ । उनका अनुसार निर्माण कम्पनीले विगत झैँ यस वर्ष पनि जेठमा काम सुरु गरेको थियो ।

‘निर्माण कम्पनीले सम्झौता भएको वर्ष ६्/७ होम पाइप हाल्ने, त्यसपछि अर्को वर्ष ग्राभेल हाल्ने र त्यसपछि असारमा आएर काम गर्ने गथ्र्यो’ चौधरीले भने ‘यस वर्ष पनि जेठमा काम गर्न आएर काम अपुरै छाडी भाग्ने खबर पाएपछि हामी सबै स्थानीयले समान नियन्त्रणमा लिएका हौ ।’ चौधरीले निर्माण कम्पनीले असारमा काम नसके ठेक्का रद्द गर्नुपर्ने बताए ।

निर्माण कम्पनी मालिका निर्माणका प्रतिनिधि वसन्त साउदले भने फोन सम्पर्क गर्दागर्दै स्थानीयले समान नियन्त्रणमा लिएको बताए । उनले कामको चाप, महँगी सँगै विभिन्न कारणले सडक निर्माणमा ढिलाइ भएको भएको बताए । उनले असारमा ८० प्रतिशत काम सकिसक्ने दाबी समेत गरे ।

सडक सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सडक निर्माणको काम भइरहेको हो । उक्त सडक कालोपत्रेका लागि मालिका निर्माण सेवा सँग भौतिक पूर्वाधार विकास कार्यालयले २०७९ जेठ २५ गते ठेक्का सम्झौता गरेको थियो । ३३ सय मिटर सडक कालोपत्रेका लागि ३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो ।