टीकापुर – कैलालीको खक्रौला भन्सारबाट लक्ष्यको ४० प्रतिशत मात्रै राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा उक्त भन्सार कार्यालयबाट लक्ष्यको ४० प्रतिशत मात्र राजश्व संकलन भएको हो ।
साउनदेखि फागुन महिनासम्म खक्रौला भन्सारले ११ करोड, ४ लाख, २२ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा उक्त अवधिमा ४ करोड, ५१ लाख, ४९ हजार रुपैयाँ मात्र राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।


असोज, पुस र फागुन बाहेक अन्य ५ महिनामा लक्ष्यको ५० प्रतिशत पनि राजश्व संकलन भएको देखिँदैन । ८ महिना मध्ये सबैभन्दा बढी असोजमा ८२ प्रतिशत राजश्व संकलन भएको देखिन्छ भने सबैभन्दा कम भदौ र मङ्सिर महिनामा १८/१८ प्रतिशत मात्र राजश्व संकलन भएको छ । पुसमा ५५, फागुनमा ५०, साउनमा ४४, माघमा ३४ र कार्तिकमा २५ प्रतिशत राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
खक्रौला भन्सारका नायव सुब्बा तुलसीराम चौधरीले भन्सारमा राजश्व नउठ्नुको प्रमुख कारण आर्थिक मन्दी भएको बताए । आर्थिक मन्दीका कारण व्यापारीहरूले राम्रोसँग व्यापार गर्न नसक्दा भन्सारबाट सामानहरू नआएकाले भन्सारमा राजश्व कम उठेको उनले बताए ।
अर्कोतर्फ चोरी पैठारी, भारत तर्फको सडकको पूर्वाधार राम्रो नहुनु र त्यहाँको भन्सारमा इन्टरनेट लगायतका विभिन्न समस्या आउने भएकाले पनि खक्रौला भन्सारमा लक्ष्य अनुसारको राजश्व नउठेको नायव सुब्बा चौधरीले जानकारी दिए ।


















