अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट प्रहरीले भन्सार छलेर ल्याइएको भन्दै ट्रक समाइएपछि कञ्चनपुरका भन्सार अधिकृत र कैलाली स्थित सशस्त्रका एसपीबिच नोकझोक भएको छ ।
प्रहरीले बिहीबार २६ लाख २५ हजार रुपैयाँ बराबरका भन्सार छलीका मोटरसाइकलका टायर, ट्युब, घाँस काट्ने मेसिन लगायतका सामानसहित यूपी ३१ सीटी १३०३ भारतीय नम्बर प्लेटको मिनी ट्रकका सहित चालकलाई पक्राउ गरेको थियो ।

उक्त सामान कञ्चनपुर भन्सार कार्यालयबाट पास भएर आएको थियो । पास भएको सामान प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले चक्रदेव भट्टले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसी बिच नोकझोक भएकाे अडियो सार्वजनिक भएको छ ।
उक्त अडियोमा सशस्त्रले रोकेको गाडी तत्काल नछोडेको खण्डमा भन्सार अधिकृत भट्टले गृहमन्त्रीदेखि आइजीपीसम्मलाई ‘फोन लगाउने’ उनले बताएका छन् ।
भट्टले केसीलाई गड्डाचौकीबाट भन्सार पास भइसकेको गाडी कैलालीमा किन नियन्त्रणमा लिएको भन्दै प्रश्न गरेका छन् । ‘के भनेर समातेको हो सर ?’ भन्सार अधिकृत भट्टले रुखो स्वरमा प्रश्न गरेका छन् ।
एसपी केसीले जवाफ दिन्छन्, ‘त्यो अलिकति अन्डरविलिङ छ कि भनेर शङ्का लागेर हो ।’ भट्टले अन्डरविलिङ भएको भए गाडी भन्सार कार्यालयमा पठाउनुपर्ने बताउँछन् । एसपी केसीले पनि त्यसमा सहमति जनाउँछन् । त्यसपछि भन्सार अधिकृत भट्टले थप कुरा सुनाउन थाल्छन् ।

‘भन्सारमा पठाइदिनुप¥यो । होइन भने ठिक छ, हजुरहरूलाई लाग्छ भने छोडिदिनुप¥यो । बाटोमा दुःख दिने कामचाहिँ नगरौँ सर,’ उनी भन्छन्, ‘त्यसले दुःख पायो भने, भोलि भन्सार पुगेन वा छुटेन भने म सिधै हजुरको आईजीपी वा गृहमन्त्रीलाई हान्छु ।’
भट्टले यसअघि पनि कञ्चनपुरबाट जाने सामानलाई बाटोमा दुःख दिने र धनगढीमा धेरै गल्ती हुने गरेको आरोप लगाएका छन् । त्यसमा एसपी केसीले जवाफ दिन नपाउँदै भन्सार अधिकृतले फेरि भन्छन्, ‘भोलि त्यो गाडी गएन या त्यसमा कुनै क्वान्टिटी फरक हालेर गयो भने मेरो डीजी, हजुरको आईजीपी प्लस तीन–चार जनालाई म स्वाट्टै हान्छु ।’
जम्बो टोलीसहित गाडी नियन्त्रणमा लिन गएको भन्दै भन्सार अधिकृतले फोनमै एसपी केसीसँग केरकार गरिरहन्छन् ।
‘त्यो कुनै आतङ्कवादी थियो र सर ? भट्टले प्रश्न गर्छन् । एसपी केसीले ‘होइन, त्यस्तो होइन, आतङ्कवादी त…’ भन्न नपाउँदै भट्टले फेरि प्रश्न गर्छन्,
‘तपाईँहरूको यही महेन्द्रनगरकोले नसमात्ने, यहाँ लोकलले नसमात्ने अनि त्यहाँ गएर कसरी समातियो ? त्यो पैसा नपाएपछि समातिएको होइन सर ?’
त्यसको जवाफमा एसपी केसीले भनेका छन्, ‘खै, पैसा पाएको नपाएको त तपाईँहरूलाई थाहा होला ।’
भट्टले प्रश्न गर्छन्, ‘अनि त्यो धनगढीमा कसरी समातियो सर ? म यहाँको एसपी साहेबलाई पनि भन्छु, तपाईँ पनि कारबाहीको भागीदार हुनुहुन्छ ।’
अन्तिममा पनि भन्सार अधिकृत भट्टले कारबाही गर्ने चेतावनी दिँदै एसपी केसीसँग आक्रोशपूर्ण शैलीमा कुरा गरेको अडियोमा सुनिन्छ ।
सामानको कम मूल्याङ्कन गरी भन्सारबाट पास गरिएको भन्ने सूचनाका आधारमा प्रहरीको संयुक्त टोलीले गाडी नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको गाडी सुरक्षाकर्मीले कैलाली भन्सार कार्यालयमा बुझाएका थिए । कैलाली भन्सारबाट पुनः इलाका प्रहरी कार्यालयमार्फत कञ्चनपुर भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।
















