बैतडी – बैतडीमा दुर्घटनामा परेको जिपका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती ६ जनाको ज्यान जाने गरी दुर्घटना भएको जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका – ८ को झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।


दुर्घटनालगत्तै चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरा फरार रहेका थिए । उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनीमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्त बुधबार आन्दोलित भएका थिए । उनीहरूले चालक र साहुलाई नियन्त्रणमा लिन तथा आवश्यक क्षतिपूर्ति दिन माग गर्दै शव नबुझ्ने तथा घटनास्थलमै राजमार्गमा शव राखेर चक्काजाम गरेर आन्दोलन गरेका थिए ।
चालक र साहु सम्पर्कमा आएको र केदारस्युँ गाउँपालिकाले पनि क्षतिपूर्ति दिने भनेपछि उनीहरूले आन्दोलन फिर्ता गर्दै शव बुझेका छन् । भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका हुन ।


















