
धनगढी, २५ चैत– कैलालीमा सडक किनारको पसलमा बस ठोक्किदा दुई जना घाइते भएका छन् । शुक्रबार राती ३ बजेतिर बझाङबाट महेन्द्रनगरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश २००१ ख १२४६ नम्बरको बस चुरे गाउँपालिका–३ को टेडी बजारको सडक किनारमा रहेको पसलमा ठोक्किएर दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।
टिनले छाएको स्थानीय नवलकिशोर शाहको खुद्रा पसलमा बस ठोक्किदा बझाङको बित्थडचिर गाउँपालिका–६ बस्ने २३ वर्षीया प्रिया धामी र उनकी ४ वर्षीया छोरी मेनुका धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।
उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार अन्य यात्रु भने सकुशल रहेका छन् । पसलमा पूर्ण रुपले क्षति भएको र बस चालक कञ्चनपुरको वेदकोट नगरपालिकाका ३२ वर्षीय नरेन्द्र बोहरा फरार रहेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर पसलमा ठोक्किएको बताईएको छ ।
















