खाेज्नुहाेस

अछामको पञ्चलदेवल विनायक नगरपालिकामा छैन दमकल

Image

अछाम – गत बिहीबार अछामको पञ्चदेवल विनायक नगरपालिका–८ का २१ वर्षीय हेमराज रोक्का मगर र १९ वर्षीय प्रेम रोक्का मगर आगलागीमा जलेर घाइते भए । पुल्लेतोलाको जोगी बसाले भन्ने ठाउँमा काठ चिरानका लागि गएका दुई जना युवकको असावधानीका कारण आगलागी भयो ।

पञ्चदेवल विनायक नगरप्रमुख अम्बिका चलाउनेका अनुसार एक जना गम्भीर घाइते भएका छन् भने अर्काको अवस्था खतरामुक्त छ । ‘उनीहरू काठ चिर्ने काम गर्ने रहेछन । साथमा पेट्रोल पनि थियो । बस्ने ठाउँमा पेट्रोल पोखिएको रहेछ । चुरोट निभाउने बेला एक्कासि आगो सल्कियो’ मेयर चलाउनेले भनिन्, ‘बिहीबार राति ११ बजेको घटना हामीले शुक्रबार बिहान मात्रै थाहा पायौं ।’ उनका अनुसार आगलागी भएको गाउँमा सडक सुविधा छैन ।

attariya hospital
navjiwan hospital

घाइतेहरूलाई बोकेर पुल्लेतोलाको गाउँसम्म र त्यहाँबाट गाडीमा विनायकसम्म पु¥याइयो । लामो समयको प्रयासपछि उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको उनले बताइन । सुर्खेतमा पनि उपचार सम्भव नभएपछि शनिबार सेनाकै हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।

पञ्चदेवल विनायक नगरपालिका भए पनि बजार क्षेत्रभन्दा धेरै गाउँ भएकाले आगलागी भएमा तत्काल निभाउने र क्षति कम गर्ने विकल्प नगरसँग नभएको मेयर चलाउनेले बताइन । ‘नगरपालिका भए पनि यहाँको धेरै गाउँक्षेत्र पर्छ । कति गाउँ अहिलेसम्म सडकको पहुँचमा छैनन्’ उनले भनिन्, ‘दमकल किनेर पनि यहाँ खासै प्रयोगमा आउन सक्ने भौगोलिक अवस्था छैन ।’ आगलागीका घटना भइहालेको अवस्थामा पनि उद्धारमा समस्या हुँदै आएको उनले बताइन ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ का अनुसार सबै स्थानीय तहले दमकल राख्नैपर्छ । जिल्लाका १० स्थानीय तहमध्ये मंगलसेन नगरपालिकाले मात्रै ७ वर्ष अगाडि दमकल खरिद गरेको छ । तर उक्त दमकल अहिलेसम्म पनि प्रयोगमा आएको छैन । नगरपालिकाले खरिद गरेको केही समयसम्म साँफेबगरमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा राखेको र अहिले नगरपालिकामा ल्याइसकेको नगरका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।

‘सशस्त्रको ब्यारेकमा राख्दा पनि दमकल खासै प्रयोगमा आएन । बेलाबेलामा त्यसको मर्मत पनि आफैं गर्नुपर्ने भएपछि यतै ल्याएर राखेका छौं । अहिलेसम्म कहींकतै प्रयोग भएको छैन । मंगलसेनको बीच बजारमा पनि दमकल जान गाह्रो छ । नगरका अरू वडामा दमकल लिएर आगो निभाउने र क्षति कम गर्न सक्ने अवस्था छैन,’ प्रशासकीय अधिकृत सोडारीले भने ।