अत्तरिया – आगलागीमा परेर गम्भीर घाइते भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.–८ कोसेडीका दुईजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको छ । फागुन ११ गते घरमा नै आगलागीमा परेर गम्भीर घाईते भएका स्थानीय २१ वर्षका हिमराज रोका मगर र १९ वर्षका पिरम रोकामगर थप उपचारका लागी काठमाण्डौ लगिएको हो ।

जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो । सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पु¥याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।