आईतबार देशभर प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन चाहने उम्मेदवारहरुको मनोनयन दर्ता गरियो । सोही सिलसिलामा कैलालीको क्षेत्र नं. ४ मा पनि उम्मेदवारहरुले आ–आफ्नो मनोनयन दर्ता गरे । क्षेत्र नं. ४ मा प्रतिनिधि सभामा १० र प्रदेश सभामा १९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका मध्ये प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ८ जना उम्मेदवार स्वतन्त्र छन ।

मनोनयन दर्ता गरेका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने समय आजसम्म छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालयले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन फिर्ताको समय तोेकेको छ । मनोनयन फिर्ता गर्न चाहने उम्मेदवारले मनोनयन फिर्ता गर्नेछन भने चुनावी माहोलमा होमिने उम्मेदवारहरुले विभिन्न चरणहरु पार गर्दै यही असोज २६ गते चुनाव चिन्ह प्राप्त गर्नेछन । ति स्वतन्त्र रुपमा उम्मेदवारी दिएका व्यक्तिहरुले उम्मेदवारी फिर्ता गर्छन कि गर्दैनन भन्ने चासोको विषय छ ।

समग्रमा माथी उल्लेखीत कुराहरु चुनावको नीति नियम सँग सम्बन्धीत रहे, तर मुख्य रुपमा उम्मेदवारी दिन चाहने व्यक्तिहरु वा उम्मेदवारी दिएका व्यक्तिहरुले उम्मेदवारी फिर्ता किन लिन्छन भन्ने विषयका बारेमा सोच्न जरुरी छ । निश्चित पार्टीको ट्याग भिरेर चुनावी मैदानमा उम्मेदवारको लिष्टमा नाम अटाउने व्यक्ति जब पार्टीले टिकट अर्काे व्यक्तिलाई दिन्छ तब त्यो स्वतन्त्र बन्छ । प्रत्येक निर्वाचनमा पार्टीको निर्देशनको बहिस्कार गर्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिने व्यक्तिहरुको संख्या बढी हुन्छ । त्यस्ता व्यक्तिलाई नागरिकले जागरुक भएको नबुझी, आफ्नो स्वार्थ सिद्धिको लागी स्वतन्त्रका नाममा पेडालु खान खोजिरहेको छ भन्ने बुझाइ राख्नुपर्दछ ।

कुनै पनि पार्टीको सिद्धान्त, विचार र आदर्श नबोकि आम जनसमुदायबाट निष्पक्ष रुपमा नागरिकहितका लागी उम्मेदवार बन्न चाहने व्यक्ति नै खास मानेमा स्वतन्त्र उम्मेदवार कहलिनुपर्दछ । तर यहाँ पार्टीगत टिकटको हाडबाजीमा हार खाएर रिसको झोकमा उम्मेदवारी दिने व्यक्ति पनि स्वतन्त्र उम्मेदवार बनिरहेको छ । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्दछ ।
कुनै पार्टीमा लागेको भएपनि समाजको हितका निमित्त पार्टीबाट टिकटको आश नगरी र टिकटका लागी मरिहत्ते नगरी स्वतन्त्र रुपमा उम्मेदवार बन्न चाहने व्यक्तिलाई पनि स्वतन्त्रको संज्ञा दिईनु स्वाभाविक हो । पार्टीको विचार र सिद्धान्त परिपालना गरेको भएपनि नागरिकको हितका लागी पार्टीको निति निर्देशन नमानी पार्टीले दिएको टिकटको पनि पर्वाह नगरी स्वतन्त्र रुपमा चुनावका लागी उठ्ने व्यक्तिले समाज निर्माण गर्ने आंकलन गर्न सकिन्छ ।
तर, टिकट वितरणका समय सम्म पार्टीगत रुपमा टिकटका लागी मरिहत्ते गर्ने र टिकट आफुअनुकुल नहुँदा स्वतन्त्र उम्मेदवारी दिदै आफु स्वतन्त्र उम्मेदवार भएको ट्याग भिराउने जो कोहि पनि आफ्नो स्वार्थपुर्तिका लागी उम्मेदवार बनिरहेका हुन । तिनीहरुलाई स्वतन्त्र उम्मेदवार नभई स्वार्थतन्त्र उम्मेदवार भनिनुपर्दछ । उम्मेदवारी दर्ताका समयसम्म स्वतन्त्र रुपमा उम्मेदवारी दिने तर पछि केही कुरा मिल्दा वा केही आश्वासन पाउँदा उम्मेदवारी फिर्ता लिने नेताहरुलाई स्वार्थी नभनी के भन्ने ?
उम्मेदवारी दिनु नै छ भने किन फिर्ता गर्ने र यदी फिर्ता नै गर्नु थियो भयो स्वतन्त्र रुपमा उम्मेदवारी दिएको ढ्वाङ किन गर्ने । यस्तै प्रवृत्तिका स्वार्थी नेताहरुका कारण समाजमा भ्रष्ट्राचारको दियो बलिरहेको छ । निर्वाचनका समयमा यस्तो प्रवृत्तिको अन्त्य नभए सम्म समाजको विकासमा समस्याहरु आई नै रहनेछन । त्यसैले ‘स्वतन्त्र’ र ‘स्वार्थतन्त्र’ उम्मेदवारहरु छुट्याई विकाशसिल र समाजप्रेमी उम्मेदवारीलाई भोट दिऔ ।