बैतडी – बैतडी घर भएका कलाकार तथा निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ । जिल्लाको पाटन नगरपालिका – १ घरभएका ६६ वर्षीय कलाकार भट्टराइको बैतडीबाट काठमौँडौ जाँदै गर्दा चितवनमा गुडिरहेकै बसमा शनिबार निधन भएको हो ।
पारिवारीक स्रोतका अनुसार उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए । लामो जुँगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए । उनले एकसे एक सुपरहिट नेपाली फिल्ममा कला निर्देशकको रुपमा काम गरेका छन् ।
कला निर्देशनसँगै फिल्ममा भेषभुषासमेत हेर्ने कुशल कलाकार समेत रहेका उनी ४ दशकदेखि फिल्ममा सक्रिय थिए । ‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’ मा कला निर्देशकको रुपमा काम गरेका थिए । नेपाली हाँस्य टेलिचलचित्र जिरे खुर्सानी, सहित अन्य नेपाली चलचित्रहरुमा पनि उनले अभिनय गरेका छन् ।