बाजुराका स्थानिय तहको बेरुजु रकम ७९ करोड बढी
बाजुरा – बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड भन्दा बढी रहेको छ । जिल्लाका नौ वटा स्थानीय तह रहेको आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ ।
नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब मिलान गर्न नसक्दा बेरुजु रकम बढी देखिएको दाबी गरे । उनले विगतमा लेखाबाट केही त्रुटि भएको र अब बेरुजु ह्वात्तै घटाउने बताए ।
चार वटा नगरपालिकामध्ये त्रिवेणी नगरपालिकामा हालसम्म सबैभन्दा धेरै १७ करोड ९२ लाख ३० हजार, बुढीनन्दा नगरपालिकामा ११ करोड ९१ लाख ९७ हजार, बुढीगंगा नगरपालिकामा ७ करोड १३ लाख २५ हजार बेरुजु रकम छ भने सदरमुकाम रहेको बडिमालिका नगरपालिकामा ६ करोड ६५ लाख ४७ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी पाँच वटा गाउँपालिका मध्ये स्वामिकार्तिक खापर गाउँपालिकामा सबैभन्दा धेरै ९ करोड ६७ लाख ६९ हजार, खप्तड छेडेदह गाउँपालिकामा ८ करोड २९ लाख ८१ हजार, हिमाली गाउँपालिकामा ८ करोड १५ लाख १४ हजार, जगन्नाथ गाउँपालिकामा ६ करोड ५५ लाख ३० हजार बेरुजु रकम पुगेको छ ।
गौमूल गाउँपालिकामा ३ करोड ६२ लाख ३५ हजार बेरुजु रकम रहेको छ ।