बैतडी – बैतडीमा नेकपा एमालले जितेका ३ पालिकामा मात्रै तिन दल बिच गठबन्धन भएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा एमालले जितेका डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चुनावी तालमेल हुन लागेको हो ।
पञ्चेश्वरमा कांग्रेसलाई अध्यक्ष, समाजवादीलाई उपाध्यक्ष, दोगडाकेदारमा कांग्रेसलाई अध्यक्ष, माओवादीलाई उपाध्यक्ष र डिलासैनीमा माओवादीलाई अध्यक्ष, कांग्रेसलाई उपाध्यक्ष दिने निर्णय भएको छ । अन्य ७ पालिकामा भने गठबन्धन गर्ने÷नगर्ने भन्नबारे दलहरुले अझै टुंगो लगाउन सकेका छैनन् ।


अहिलेसम्म अन्य पालिकामा मित्रवतरुपमा प्रतिस्पर्धा गर्ने कुरा भएको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए । तर अन्तिम टुंगो अझै लागेको छैन । कुनै पालिकामा समाजवादी र माओवादीको मात्र गठबन्धन भएको छ । सुर्नया गाउँपालिकामा शुक्रबार समाजवादी र माओवादीले गठबन्धन गरेर चुनावमा जाने बताएका छन् ।
अध्यक्ष समाजवादी र उपाध्यक्ष माओवादीलाई दिने सहमति भएको छ । अन्य पालिकामा पनि माओवादी र समाजवादीको गठबन्धन हुने सम्भावना बलियो छ । कांग्रेस भने एक्लै चुनावमा जाने मनसाय देखिएको छ ।
दलहरुले चुनावी तालमेल गर्ने भनेका पालिकामा उम्मेदवारको टुंगो भने लागेको छैन । उम्मेदवारको मनोनयन दर्ताको दिन नजिक आउँदासमेत गठबन्धन दलहरुले उम्मेदवारको टुंगो लगाउन नसकेका हुन् ।



















