अत्तरिया – गोदावरी नगरपालिका भित्र निर्माण गरिएका १३ वटा सडकमा अनियमितता भएको भन्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित ८ जना विरुद्ध मुद्धा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको आरोपमा बिशेष अदालत काठमाडौंमा मुद्धा गर्दा गरेको हो ।

अख्तियारले मुद्धा दायर गरेकाहरुमा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज विष्ट, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्द रहेका छन ।

बिष्टले ३६ लाख ९१ हजार ९ सय २० रुपैयाँ र जोशीले ४५ लाख २२ हजार ३ सय ६ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएकाले त्यही बराबरको बिगो असुलीका लागि मुद्दा दायर गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत बिष्ट र देवराज जोशीले प्राबिधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानि नोक्सानीमा संलग्न रहेको देखिएको आयोगका प्रबक्ता श्यामप्रशाद भण्डारीले जनाएका छन । उनले इन्जिनियर र सब इन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको पाइएकाले मुद्धा अन्य विरुद्ध पनि मुद्धा दर्ता गरेको बताए ।
निर्माण व्यवसायीले गुणस्तरहीन कार्य र बढी भुक्तानी लिई सरकारलाई हानि नोक्सानी पु–याई भ्रष्टाचार गरेको देखिन आएको आयोगको भनाई छ । त्यसैले अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।
अन्य प्राबिधिक कर्मचारीले पनि भ्रष्टाचार गरेको प्रमाणित भएकाले उनीहरुमाथि पनि त्यही बराबरको बिगो दाबी गरी मुद्दा दर्ता गरिएको छ ।



















