अत्तरिया – सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्गले सरकारले आर्थिक अनुशासन कायम गरे नगरेको बिषयमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन ।
शुक्रबार धनगढीमा आयोजित आर्थिक पत्रकारहरुलाई पेफा र सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी तालिम तथा अभिमुखिकरण कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

उनले सरकारका आर्थिक क्रियाकलापका बिषयमा निर्धक्क भएर कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह गरे । ‘सरकारले आर्थिक रुपमा अनुशासन कायम गरेर हिडेको छ कि छैन भनेर तपाईले निर्धक्क भएर कलम चलाउनहोस् । यसमा हामी सहकार्य गर्न तयार छौ’ उनले भने ‘हामी जो जहाँ भएपनि जनताको लागि काम गरिरहेकाले सबैले एक आपसमा सहकार्य गरेर अगाडी बढौ ।’

उनले तालिमले आर्थिक क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप सहयोग पुग्ने बताए । ‘तालिम पश्चात सुदूरपश्चिम सरकारले गरेका कामका बारेमा यहाँहरुले कलम चलाउनु हुनेछ’ उनले भने ‘कमिकमजोरीका बिषयमा पनि यहाँहरुले कलम चलाउनु हुनेछ भन्ने मेले विश्वास गरेको छु ।’

शुक्रबार धनगढीमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालयसंगको सहकार्यमा एक दिने आर्थिक पत्रकारहरुलाई पेफा र सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी तालिम दिइएको थियो ।
सेजनका अध्यक्ष जनार्दन बरालको अध्यक्षतामा भएको कार्यक्रममा पेफाका सचिवालय सदस्य सचिव गोरखबहादुर शाही, सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव जितेन्द्र बस्नेत, पुर्व अर्थसचिव शिशीर ढुङ्गाना, नागरिक दैनिकका समाचार प्रमुख बालकृण ज्ञवाली लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।



















