धनगढी – नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा ‘देउवा’ ले प्रतिनिधि सभाको निर्वाचनमा आफू फेरि पनि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने बताएकी छिन् ।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा ‘देउवा’ ले आफूलाई कैलाली क्षेत्र नम्बर ५ का जनताले माया गरेरै २२ हजार बढी मत दिएको बताउँदै पार्टीले टिकट दिए फेरि पनि यही बाट चुनाव लड्ने बताएकी हुन् ।

‘म यहाँका जनतासंग भिजिसकेको छु । त्यसैले यही चुनाव लड्छु’ डाक्टर आरजु राणा देउवाले भनिन्, ‘मलाई यही ठाउँ मनपर्छ । ०७४ को चुनावमा तीन÷चार दल मिलेर मलाई हराएका हुन, म हारेको होइन् ।’
‘पहिले पनि वर्दिया लगायतका ठाउँमा लड्ने प्रचार गरिएको थियो तर मैले धनगढी नै रोजे’ डाक्टर देउवाले भनिन्, ‘मलाई सर्लाहीमा पनि लड्न भनिएको छ तर पार्टीले टिकट दिए धनगढीबाटै लड्छु ।’

डाक्टर देउवाले स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गरिन । ‘संविधान अनुसार तोकिएकै समयमा चुनाव हुन्छ र हुनुपर्छ’ डाक्टर देउवाले भनिन्, ‘चुनाव हुन्न भन्ने हल्लाका पछाडि नलाग्न अनुरोध गर्छु ।’
डाक्टर देउवाले अहिलेका सत्ता गठवन्धनका दलहरु मिलेरै चुनावमा जाने बताइन् । एमाले विभाजित भएको बेला काँग्रेस एक्लै लड्न किन डराएको भन्ने प्रश्नमा डाक्टर देउवाले भनिन्, ‘एमाले मात्र छैन अरु पार्टी पनि छन् । ०७४ को चुनावले सिकाएको अनुभवले गठवन्धनमा जानैपर्छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो गठवन्धन गर्ने नगर्ने बारे बहस भएका छन हामी निर्णय गरेरै गठवन्धन बनाएर चुनावमा जान्छौ ।’
महामन्त्री गगन थापा लगायका नेताले सार्वजनिक रुपमा गठबन्धन नहुने बताइरहेको सन्दर्भमा काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले नेपाली काँग्रेस लोकतान्त्रीक पार्टी भएकाले असहमति राख्न पाइने । तर, गठबन्धन कायम राख्ने कुरामा सबै एक मत भएको बताइन् ।
देउवाले सानातिना मनमुटाव एउटा घर, परिवारवीच हुन्छन त्यस्तो हुनु सामान्य पनि हो त्यसैले काँग्रेसको आन्तरिक चुनावका मनमुटाव जनताका वीचको चुनावमा प्रकट नहुने विश्वास गरिन ।
उनले ३६४ दिन काँग्रेस हुनेहरुले भोट हाल्ने दिन ३६५ औ दिनमा पनि काँग्रेसलाई भोट हाल्न आग्रह गरिन । काँग्रेसकै नेतृत्वमा ठूलाठूला परिवर्तन भएको दावी गर्दे उनले सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवर्तन पनि काँग्रेसकै पालामा भएकोले जनताले काँग्रेसलाई नै भोट दिनुपर्ने मा जोड दिइन् ।



















