काठमाण्डौं – चीनमा चालक दलका सदस्य सहित १३२ जना सवार जहाज दुर्घटना भएको छ । सोमबार चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटना भएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सको अनलाइन संस्करणमा उल्लेख गरिएको छ । चीनको गोङ्सी जोन्जु प्रान्तमा जहाज दुर्घटना भएको हो ।
उडान भरेको केही समयमै सम्पर्क विच्छेद भएको जहाज पहाडमा ठोक्किएको चिनियाँ नागरिक उड्डयन प्रशासन (सीएएसी)ले जनाएको छ । पहाडमा जहाज ठोक्किएपछि धुँवाको मुस्लो आएको जनाइएको छ ।


दुर्घटनाग्रस्त जहाजको क्षतिको विवरण आएको छैन । आपतकालिन उद्धार टोली खटिएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ । यो जहाजमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य थिए ।
चीनमा १२ वर्षपछि ठूलो जहाज दुर्घटना भएको हो । यसअघि सन् २०१० मा इचुन शहरमा भएको जहाज दुर्घटनामा ४४ जनाको मृत्यु भएको थियो ।



















