खाेज्नुहाेस

ओलानी सडकमा भ्रष्टाचार लुकाउन कालोपत्रे माथि कालोपत्रे गरिएको भन्दै चर्को विरोध (भिडीयो)

Image

अत्तरिया – सडक कालोपत्रे गर्दा भएको भ्रष्टाचार लुकाउन कालोपत्रे माथि कालोपत्रे गरिएको भन्दै कैलालीको गोदावरी नगरपालिका – ११ ओलानीका स्थानीयले विरोध गरेका छन । ओलानीको गौडी देखि गुलरीया शाखा नहरसम्म ७ सय मिटर सडक कालोपत्रे गर्दा भ्रष्टाचार भएको र अहिले आएर स्थानीयको आखाँमा छारो हाल्न कालोपत्रे माथि कालोपत्रे गर्न लागिएको भन्दै चर्को विरोध गरेका हुन ।

उक्त सडक नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ मा कालोपत्रे गरेको थियो । स्थानीयले सडक गुणस्तरहिन भएको भन्दै अख्तियारमा उजुरी दिएका थिए । नगरपालिकाको प्राबिधिक टोलीले सडक पास गरेर रकम भुक्तानी समेत भएपछि अख्तियारको प्रबिधिक टोलिले छानबिन गर्दा कालोपत्रे मापदण्ड अनुसारको नभएको ठहर गरेको थियो ।

attariya hospital

कालोपत्रेको मोटाई ३ सेन्टिमिटर हुनुपर्नेमा डेढ सेन्टिमिटर मात्रै भएको अख्तियारको टोलेले भेटाएपछि अहिले उपभोक्ता समिति मार्फत करिब २ बर्ष पछि पुनः कालोपत्रे माथि कालोपत्रे गरिदै छ । डेढ सेन्टिमिटर थप्ने गरि कालोपत्रे माथि कालोपत्रे गरिन थालेपछि स्थानीयले यसको बिरोध गरेका हुन ।

स्थानीय गणेश बहादुर खड्काले सडक सुरुदेखि नै मापदण्ड अनुसार नबनेको भनेर आवाज उठाएको भएपनि बेवास्था गरिएको बताए ।
‘सुरुमा सडक कालोपत्रे गर्दा पनि यो सडक उप्किएको थियो । त्यतिबेला पनि हामीले विरोध गरेका थियो । विरोधकै बिच टालटुल गरेर कमजोर किसिमको सडक निर्माण गरियो’ उनले भने ‘यस क्षेत्रका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी उपभोक्ता समितिको मिलेमतोमा काम भएको हो ।’

उनले उपभोक्ता समिति निर्माण गर्दा पनि सडक किनाराका मानिस भन्दा पनि अन्य टोलका मानिसलाई समितिमा राखिएको बताए । उनले अहिले कालोपत्रे माथि कालोपत्रे गर्दा कहाँबाट रकम आएको भन्ने आफूलाई अनविज्ञ रहेको बताए ।

‘अहिले एक पटक पिच भएको सडकमा पुन पिच हुँदैछ यो बजेट कहाबाट आयो । यसको बारेमा स्थानीयलाई जानकारी नै छैन । अहिले बेस नै कमजोर भएको बाटोमा माथिबाट टालेर यो बाटो बन्छ कि बन्दैन । यसको पनि परिक्षण हुनु पर्छ । यसको पुन निर्माण बेस बाटै हुनु पर्छ’ उनले भने ‘सुरुमा काम नै गलत गरेर पछि त्यसमा थोर थोरै पैसा उठाएर यसरी काम गर्ने हो भने यसबाट गलत मेसिज जान्छ ।’ उनले स्थानीयलाइै बेवास्था गरी टालटुल गर्ने काम भएका आफूहरु कानुनी प्रक्रियामा जाने बताए ।

स्थानीय पदम बहादुर बडेलाले गोदावरी नगरपालिकाले ओलानी क्षेत्रका लागि ल्याएको पहिलो कालोपत्रे सडक भएको बताए ।
उनले सडकमा पैसा खाने नियत राखेपछि कालोपत्रे गुणस्तरीय नभएको बताए ।

‘पैसा कमाउने नियतले काम गर्दा बाटो राम्रो बनेन । हामीले सुरु देखि बाटो गुणस्तर भएन भनेर आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि अख्तियारमा मुद्धा गएको थियो’ उनले भने ‘अहिले अख्यितारले काम गुणस्तर भएन भनेपछि यो सडकमा भ्रष्टाचार गर्नेहरुले पैसा उठाएर फेरी बनाउँदैछन भनेर सुन्नमा आएको छ । तर यसको पैसा कहाबाट आयो भन्ने जानकारी गाउँलेलाई छैन । यस्तो भ्रष्टाचार हुँदा पनि कारवाही नहुनु दुःखद हो ।’

स्थानीय जंग बहादुर बडेलाले ओलानीमा अरु बाटा एक एक पटक पनि कालोपत्रे नभइरहेको अवस्थामा यहाँ कालोपत्रे माथि कालोपत्रे भएको देखेर अचम्म लागेको बताए ।

navjiwan hospital

उनले कालोपत्रे माथि कालोपत्रे किन भइरहेको छ भन्ने बारेमा स्थानीयलाई जानकारी दिइनुपर्ने बताए । उनले कालोपत्रे गर्दा भ्रष्टाचार भएको भए कारवाही गरिनुपर्ने बताए ।

स्थानीय नन्द राम खड्काले सडक विग्रनुको मुख्य दोषि वडा प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी भएकाले उनीहरुले सडकमा आएको समस्याका बारेमा जानकारी दिनु पर्ने बताए ।

स्थानीय भीम कडायतले सडक पास हुँदै नै मिलेमतो भएको दावी गरे । उनले भने ‘अहिले चोरी गर्नेले चोरी ढाकछेप गर्न पुन कालोपत्रे गरिदै छ । यो बजेट अहिले कसरी आयो पारदर्शी रुपमा जानकारी दिइनु पर्छ ।’

वडा नम्बर ११ का वडा अध्यक्ष शिव विकले भने कालोपत्रे ३ सेन्टिमिटर हुनुपर्नेमा औषतमा डेढ सेन्टिमिटर मात्रै भएको पाइएपछि उपभोक्ता समितिले कालोपत्रे थप काम गरिरहेको बताए । उनले उतीबेला उपभोक्ता समितिको नाम लिइएपछि ठेकेदार मार्फत काम गरिएको बताए ।

‘यो ठूलो विवाद होइन । यो पिच उपभोक्ता समितिको नाम मात्रै हो । काम जगदम्बा कन्ट्रकसनले गरेको हो । यसमा भ्रष्टाचार भएको छैन’ उनले भने ‘उतिबेला पहिलो सडक भएकाले उपभोक्तालाई पनि अनुभव नभएको अवस्था थियो । उतीबेला नगरपालिकाबाट प्रबिधिक राजेन्द्र भण्डारी र जानकी बडौलाले हेरेका थिए । यो ओलानीको पहिलो पिच भएकाले पिच कति हुन्छ हामीलाई पनि जानकारी भएन ।’

उनले नगरपालिकाका इन्जिनियरले सडक कसरी पास गरे भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए । ‘अख्तियारले चेक गर्दा बेस ठिक छ पिच मात्रै कम भएको भनेपछि अहिले पिच मात्रै थपिन लागेको हो’ उनले भने ‘रकम उपभोक्ता समितिले व्यवस्था गरेको छ । उपभोक्ता समितिले जगदम्बा कन्ट्रसनलाई पनि भनेको थिए ।’

अहिले उपभोक्ता समितिका अध्यक्ष भारतमा रहेका छन । यसअघि गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेम राज बिष्टले अख्तियारले त्रुटी फेला परेपछि आफूहरु जिम्मेवार व्यक्ति भएकाले निर्माण गर्न लागेको बताएका थिए । अत्तरिया अनलाइन संग कुरा गर्दै उनले आफूले पनि सडक निर्माणका लागि रकम संकलन गरेको बताएका थिए ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ४० लाखको लगानीमा गौडीदेखि गुलरीया शाखा नहरसम्म ७ सय मिटर सडक कालोपत्रे गरेको थियो । सडक निर्माणकै क्रममा स्थानीले त्रुटी भएको भन्दै विरोध समेत गरेका थिए । सडक कालोपत्रे गरेको ३ दिनमै उप्किन थालेपछि अख्तियारमा उजुर परेको थियो ।

भिडियो

सम्बन्धित खबर : गल्ती ढाकछोप गर्न गोदावरीका हाकिमले नै रकम संकलन गरेर सडक मर्मत गर्दै