अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ मा निर्माण गरिएको कालोपत्रे सडक मापदण्ड विपरित भएको पाइएपछि हाकिम, कर्ममचारीले नै पुनः निर्माण गर्न थालेका छन । सडक मापदण्ड अनुसार नभएको अख्तियारमा उजुरी परेपछि अख्तियारले छानबिनका क्रममा सो सडक मापदण्ड अनुसार निर्माण नगरिएको ठहर गरेको थियो ।
अख्तियारको प्राबिधिक टोलीले सडकको कालोपत्रे ३ सेन्टिमिटर हुनुपर्नेमा डेढ सेन्टिमिटर मात्रै पाइएपछि अहिले गल्ती ढाकछोप गर्न नगरपालिकाका हाकिम कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले साढे ७ लाख रकम संकलन गरेर सडक कालोपत्रे गर्न लागेका हुन । सडक उपभोक्ता समिति मार्फत निर्माण गरिएको भएपनि नगरपालिकाले मापदण्ड विपरित बनेको सडक पास गरेरे भुक्तानी गरेको अख्तियारको ठहर छ ।

गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ४० लाखको लगानीमा गौडीदेखि गुलरीया शाखा नहरसम्म ७ सय मिटर सडक कालोपत्रे गरेको थियो । सडक निर्माणकै क्रममा स्थानीले त्रुटी भएको भन्दै विरोध समेत गरेका थिए । सडक कालोपत्रे गरेको ३ दिनमै उप्किन थालेपछि अख्तियारमा उजुर परेको थियो ।
तर, नगरपालिकाले भने सडक पास गरेर रकम समेत भुक्तानी गरिसकेको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम राज बिष्टले अख्तियारले त्रुटी फेला परेपछि आफूहरु जिम्मेवार व्यक्ति भएकाले निर्माण गर्न लागेको स्वीकार गरे ।
‘अख्तियारले हामीहरु संग पनि बयान लिएको थियो । हामीले उपभोक्ता समिति मार्फत गल्ती भइहाल्यो अब हामी त्यसलाई त्रुटी सुधारेर बनाइदिन्छौ भनेका हौ’ उनले भने ‘हामीले अख्तियारलाई अनुरोध गरेर सडक बनाउन लागेका हौ ।’
उनले सडक मर्मत गरेपछि गल्ती सुधार भएको भनेर अख्तियारमा निवेदन दिने बताए । ‘काम गर्ने क्रममा भएको त्रुटी सुधार गर्छौ भनेका छौ’ उनले भने ‘सडक मर्मत गरेपछि पुनः अख्तियारले बयान लिन्छ ।’
उनले खासै ठूलो त्रुटी नभएपनि प्राबिधिक निरिक्षणका क्रममा कमजोरी भएको बताए । तत्कालिन समयमा सो सडकको निरिक्षणका लागि गोदावरी नगरपालिकाबाट ओभरसियर राजन्द्रे भण्डारी खटिएका थिए ।
सो सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्ली बिक रहेका थिए । उनी अहिले भारतमा रहेका छन । श्रोतका अनुसार अहिले सडक निर्माणका लागि आवश्यक पर्ने साढे ७ लाख रकम गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्ट, नगरपालिकाका इन्जिनियर, ओभर्सेयर र केही उपभोक्ताले रकम संकलन गरेर सडक मर्मतको तयारी थालेका छन ।


फेरी झारो टारिदै गरेको स्थानीयको आरोप
उता स्थानीयले भने सडकको बेस नै कमजोर बनाएकाले अहिले माथिबाट कालोपत्रे थप्नुको कुनै औचित्य नभएको बताएका छन । स्थानीय नवराज जोशीले सडकको बेस नै कमजोर हुँदा सडक पिच गर्ने क्रममै उप्किएको बताए ।
‘अहिले निर्माण गरेको २ बर्ष पछि पुनः कालोपत्रे माथि कालोपत्रे गर्ने तयारी गरिदै छ । पीच सुरुदेखि नै कमजोर थियो । ठाउँठाउँमा खाल्डाहरु परेका छन । कुनै ठाउँमा सडक धसेको छ’ उनले भने ‘सुरुमा पनि पिच उप्किएपछि तुरुन्तै माथिबाट पिच गरिएको थियो । अहिले पुनः पिच माथि पिच गर्ने भन्दै छन । यो झारो टार्ने काम हो ।’ उनले काम गर्ने क्रममा नगरपालिकाले अनुगमन नै नगरेको बताए । उनले भने ‘भ्रष्ट्रचार भएर यस्तो समस्या आएको हो । अब यो सडकलाई जसरी हुन्छ बलियो बनाउनु पर्छ ।’
स्थानीय भीम कडायतले सडकको बेसमा नै कमजोर भएकाले अहिलेको कालोपत्रे निकालेर पुनः बेस देखि काम गरिनुपर्ने बताए । ‘यो काम गुणस्तरहीन भयो भनेर मुद्धा पनि परेको थियो । यो माथि पुनः पिच गर्नु गलत हो । यसलाई पुरै भत्काएर पुनः निर्माण गरिनु पर्छ’ उनले भने ‘पुरानो समितिबाटै पैसा असुल गरेर पुनः पिचको काम भइरहेको सुन्नमा आएको छ ।’
स्थानीय मोहन सिह गुजेडाले भने स्थानीय उपभोक्ता समिति संगै वडा अध्यक्षले पनि पुनः कालोपत्रे गर्न रकम उठाएको दावी गरे । ‘अहिले जसले गल्ति गरेका छन तिनीहरुले नै पैसा उठाएका छन’ उनले भने ‘यसरी पिच माथि पिच गर्ने तयारी भइरहेको छ । पहिले काम गर्दा धेरै त्रुटी देखिए । हामीले बिरोध गरेर मुद्धा पनि हालेका हौ ।’ हाल सो सडकमा कालोपत्रे माथि कालोपत्रे हाल्ने तयारी थालिएको छ ।

भेरिएसनको ल्याब रिपोर्ट पनि नक्कली
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा पनि उक्त सडकमा नक्कली भेरिएसनको ल्याब रिपोर्ट बनाएर कालोपत्रे गरेको पाइएको थियो । महालेखाले सडक कालोपत्रे गर्दा ठेकेदार तथा उपभोक्ता समितिले भेरिएसनको ल्याब रिपोर्ट नक्कली पेस गरेकाले उक्त बिल बाफत भुक्तानी भएको रकम पनि असुल गर्न भनेको थियो ।
सडक कालोपत्रे गर्दा पूर्वाधार विकास कार्यालय, कैलालीको ल्याबबाट परिक्षण गर्नुपर्ने भएपनि उपभोक्ता समितिले नक्कली रिपोर्ट पेश गरेकाले कारवाहीका लागि सिफारिस गरिएको थियो । उपभोक्ता समितिले नक्कली टेष्ट रिपोर्ट बनाएर नगरपालिकाबाट ३० हजार भुक्तानी समेत लिएको पाइएको थियो ।

















