अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा वादी बस्तीका घर जलाइएको विरोधमा गोदावरी नगरपालिका कार्यालय अगाडी धर्ना दिइएको छ ।
राष्ट्रिय वादी संजालको समन्यवमा घुमन्ते, मगन्ते भूमिहिन वादी अधिकार संघर्ष समितिले नगरपालिका कार्यालय अगाडी धर्ना दिएको हो । धर्ना कार्यक्रममा चौकीडाँडाको राजमार्ग किनारमा बस्ने वादी समुदायको सहभागिता रहेको थियो । केहीबेर नगरपालिका कार्यालय अगाडी धर्ना दिएका उनीहरुले आफ्ना माग लिखित रुपमा गरपालिकालाई बुझाएका थिए ।


घुमन्ते, मगन्ते भूमिहिन वादी अधिकार संघर्ष समितिका उपाध्यक्ष केसब दुलाल बादीले आगजनी र तोडफोडमा परेका ६० वादी परिवारको गास, बास तथा कपासको व्यवस्था मिलाउन माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको बताए ।
उनले नगर प्रमुख हरी सिह साउँदले मागलाई सकारात्मक रुपमा लिदै तत्काल राहतको व्यवस्थापन गर्ने आश्वासन दिएको बताए ।
फागुन २३ गते सव डिभिजन वन कार्यालय अत्तरियाले वादी समुदायले वन क्षेत्रमा अतिक्रमण गरेको भन्दै वादी वस्तीका केही टहरा भत्काएर जलाएको थियो ।
राजमार्ग किनारामा बसेका वादी समुदायले सडक संगै जोडिएको वडीमालिका सामुदायिक वनमा अतिक्रमण गरेको भन्दै घर भत्काएर जलाइएपछि वादी समुदायले त्यसको चर्को विरोध गर्दै आएका छन । उनीहरुले सरकारले उचित ब्यवस्थापन नहुँदा सम्म सो ठाउँमा भयरहित वातावरणमा बस्न पाउनु पर्ने माग समेत गरेका छन ।




















