अत्तरिया – कैलालीको बुढीतोलामा निर्माणाधिन भ्यू टावरको काम सुस्त गतिमा अगाडी बढेको छ । गोदावरी नगरपालिका – ४ मा करिब ६ बर्ष अगाडी देखि नै भ्यू टावर निर्माण गर्ने योजना अगाडी सारिएको भएपछि हाल सम्म पनि योजनाले सार्थकता पाउन सकेको छैन ।
साविकको पाँच विकास क्षेत्रका पाँच स्थानमा भ्यू टावर निर्माण गर्ने भनेर कैलालीको बुढीतोला छनोटमा परेको थियो ।सोही अनुसार पर्यटन कार्यालय कोहलपुरले भ्यू टावर राख्नका लागि वातावरणीय प्रभाव मुल्याङकन स्वीकृत समेत गरेको थियो । तर, पछि संघीय संरचनामा पर्यटन कार्यालय खारेज भएपछि उक्त योजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएपनि हालसम्म भ्यू टावर बन्न सकेको छैन ।

संघिय सरकारको स्वीकृत कार्यक्रम अन्र्तगत प्रदेश सरकारको बजेटमा निर्माणाधिन भ्यू टावर बहुबर्षिय योजना अन्तरगत राखिएको छ । १ करोड ८० लाख लागत लाग्ने भ्यू टावर निर्माणका लागि प्रदेश सरकारले गत बर्ष २५ लाख र चालु आर्थिक बर्षमा १० लाख मात्रै विनियोजन गरेको छ । उपभोक्ता समिति मार्फत निर्माण भइरहेको उक्त भ्यू टावरका हालसम्म २ तला ढलान भएका छन ।

उपभोक्ता समितीका अध्यक्ष शेर बहादुर खत्रीले २ तला ढलानको काम गत आर्थिक बर्षमा विनियोजित २५ लाख बजेटबाट सम्पन्न गरिएको बताए । उनले चालु आर्थिक बर्षमा प्रदेश सरकारबाटै थप १० लाख बजेट छुट्याइएकाले सो बजेटले थप १ तला सहित र सिडी रेलिङ निर्माण गरीने बताए । उनले चालु आर्थिक बर्षमा छुट्याइएको १० लाख बजेटको काम २÷४ दिन भित्रमै सुरु गर्ने तयारी रहेको बताए । अहिले ३ तलाको भ्यू टावर निर्माणका लागि स्विकृत भएर काम अगाडी बढाइएपनि यसलाई ५ तले बनाउनको लागि आफूहरुले माग पेस गरेको उनले बताए ।
‘अहिले ३ तला ढलान गरेर माथिको भर्टिकल छानो निर्माण गर्न भनिएको छ’ उनले भने ‘तर, हामीले त्यसरी निर्माण गर्दा पछि माथि तला थप्न नमिल्ने भएकाले अहिले छानो पनि भर्टिकल नभएर जिरो लेवरमै निर्माण गरौ भनेका छौ । हाम्रो माग थप २ तला उठाएर ५ तले बनाउनु पर्छ भन्ने हो ।’ उनले यस बिषयमा प्रदेश सरकारले अध्ययन गरिरहेको बताए ।
‘उत्तर पट्टिको अपि हिमाललाई अझै राम्रो संग हेर्नका लागि ५ तला सम्म गए सहज हुन्छ । अनी पूर्व पट्टिको बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न पनि सहज हुन्छ’ उनले भने ‘यसका लागि मन्त्रालयको टोलीले अहिले अध्ययन गर्ने भनेका छन ।’ डिपिआर अनुसार भ्यू टावर संगै महाकाली राजमार्ग देखि सिडी निर्माण गर्ने, भ्यू टावरका साइडमा पार्क निर्माण गर्ने लगायतका योजना रहेका छन । तर, योजना अनुसारका काम अगाडी नबढाइएकाले अहिले भ्यू टावरको काम निकै सुस्त गतिमा अगाडी बढीरहेको छ ।

भ्यू टावर पुग्नको लागि अहिले सडक पनि निर्माण गरिएको छ । तर, सडक निकै जोखिमपूर्ण भएकाले यसको मर्मतका लागि पनि आफूहरुले पहल गरिरहेको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताए । भ्यू टावर बुढीतोला राजमार्ग देखि करिब १ किलोमिटर दुरीमा रहेको छ ।

















